काउन्सिलको ५६ औँ वार्षिकोत्सव सम्पन्न
प्रेस काउन्सिल नेपालले ५६ औँ वार्षिकोत्सव मनाएको छ । पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमलाई ध्यानमा राख्दै यो वर्ष अन्य विशेष गतिविधि स्थगित गरिएको काउन्सिलले जनाएको छ ।
सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अङ्ग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गरिएको छ । अघिल्ला वर्षमा राष्ट्रपतिको उपस्थितिमा भव्य समारोहमा पुरस्कार वितरण हुँदै आएको भए पनि यसपटक ती कार्यक्रम स्थगित गरिएको काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिए ।
वार्षिक प्रगतिबारे प्रस्तुत गर्दै मुख्य अधिकृत भुसालले हालको ‘जेन–जी आन्दोलन’ का कारण सञ्चार माध्यम र पत्रकारमाथि परेको प्रभाव, आक्रमण र चुनौतीबारे विशेष अध्ययन–अनुगमन गर्ने योजना अघि सारेका छन् । साथै, पूर्वाधार र प्रणालीमा सुधार गरी ‘डिजिटल काउन्सिल’ बनाउने, ऐन, नियम, विनियम र आचारसंहिता परिमार्जन गर्ने तथा सङ्घीय संरचना अनुसार स्थानीय तहसम्म पत्रकार तथा सञ्चार माध्यमको अध्ययन–अनुगमनलाई प्राथमिकतामा राखिने बताए ।
कार्यक्रमका अध्यक्ष अर्यालले कुनै पनि राजनीतिक परिवर्तन वा उपलब्धिले काउन्सिललाई बिचलित नबनाएको र आचारसंहिताको कार्यान्वयनमा काउन्सिल सफल रहेको उल्लेख गरेका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माको तथ्यहीन सामग्री सम्प्रेषणका कारण सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या औँल्याउँदै काउन्सिलको भूमिकाले सञ्चार माध्यमलाई थप जवाफदेही बनाउन मद्दत गरेको धारणा छ ।
काउन्सिलका सदस्यसचिव एवम् सूचना तथा प्रसारण विभागका महानिर्देशक उदयबहादुर रानामगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजीकरण गरेका थिए ।
टिप्पणीहरू