एमाले जुर्मुराएर उठ्ने शंकर पोखरेलको जिकिर
भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंसात्मक घटनामा नेकपा एमालेको ६४ वटा पार्टी कार्यालय ध्वस्त भएको छ । विध्वंसकारी प्रदर्शनले पुर्याएको क्षतिको प्रारम्भिक विवरण भन्दै महासचिव शंकर पोखरेलले यो जानकारी दिएका हुन् ।
हिजो बसेको केन्द्रीय कार्यालयको बैठकमा देशभरबाट प्राप्त प्रारम्भिक विवरणमाथि समीक्षा भएको उनको भनाइ छ । च्यासलस्थित केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको जनाइएको छ ।
त्यसैगरी, पार्टीका नेता तथा कार्यकर्ताका १५८ भन्दा बढी घर, व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको महासचिव शंकरले जनाएका छन् ।
'बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्यो', उनले भने, 'प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ । त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ ।'
अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम शुरु भइसकेको पनि शंकरले जानकारी दिए । आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको मर्मतका लागि पार्टी कार्यकर्ताहरू स्वयमसेवी भावनाका साथ परिचालित भइरहेको पनि बताइएको छ ।
पार्टीपंति फेरि जुर्मुराएर उठ्ने विश्वास पनि व्यक्त गर्दै शंकर भन्छन्, 'राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्तैछ ।'
टिप्पणीहरू