ओलीलाई 'झापा विद्रोह २.०' को चुनौती

ओलीलाई 'झापा विद्रोह २.०' को चुनौती फाइल फाेटाे

नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा- ५ का बाट ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको पछिल्लो बैठकले पदम पौडेल, खगेन्द्र अधिकारी, अइन्द्र केरुङ, मेदनी सिटौला, देवी दाहाल र मन्दरा चिमोरियालाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । 

झापा-५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो । ०७९ को आमनिर्वाचनमा काँग्रेसले अधिकारीलाई उम्मेदवार बनाएको थियो । उनी ओलीसँग भारी मतले पराजित भए । ५१ हजार ६१९ मतसहित ओली निर्वाचित हुँदा अधिकारीलाई २३ हजार २३१ भोट परेको थियो । 

तर, यसपटक भने परिस्थिति बदलिएको छ । जेनजी घटनापछि सो क्षेत्रका मतदाताले सामाजिक सञ्जालमार्फत् ओलीलाई बहिष्कार गर्ने अभियान नै चलाइरहेका छन् । सञ्जालमा छ्याप्छ्याप्ती पारिएको पोस्टरमा 'ओली अब प्रधानमन्त्री होइन, उम्मेदवार बन्न पनि लायक नरहेको' आशयका नारा लेखिएको छ । 

‘झापा विद्रोह २.०’ नामक समूहले ०७९ को निर्वाचनमा ओलीलाई मत दिएकोमा माफी माग्दै खबरदारी घोषणा गरेकाे छ । ‘हामी ओलीलाई त्याग्दैछौँ, पात्र मात्र हैन, त्यो अनुत्तरदायी प्रवृत्ति र अहङ्कारी राजनीतिक संस्कारको प्रतिनिधिलाई त्याग्दैछौँ’, लेखिएको छ, ‘फागुन २१ गते हुन गइरहेको निर्वाचनमा खड्गप्रसाद ओली हाम्रो प्रतिनिधि त के उम्मेदवारसमेत अयोग्य रहेको खबरदारीपूर्ण स्वघोषणा गर्दछौँ ।’

संसद पुनर्स्थापनाको रटान लगाइरहेका ओलीले हालसम्म चुनाव लड्नेबारे संकेत गरेका छैनन् । तर, फागुन २१ को चुनावमा उनी झापा-५ बाट उठेमा पहिलेजस्तो सहज अवस्था नरहेको बुझिन्छ । त्यसो त, ०७४ मा माओवादीसँग गठवन्धनका बाबजुत ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग पनि तालमेल गरेका थिए । ०७९ मा पनि एमाले र राप्रपाबीच भोट साटासाट भएको थियो । 

झापा विद्रोहका संस्थापक नेता ओली 'झापा विद्रोह २.०' बाटै बिदा हुनसक्ने कतिपयको अनुमान छ ।
 

टिप्पणीहरू