जिल्ला हाँक्ने नेता १९, वडा १४
म्याग्दीबाट केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारीमा प्रतिनिधित्व गर्ने एमालेका १९ नेताका १४ वडामध्ये गएको स्थानीय तह निर्वाचनमा ११ वडा विजयी भएका छन् । केन्द्रीय कमिटीमा ३ जना, प्रदेशमा ११ र जिल्लाको पदाधिकारीमा ५ जना गरी १९ जना नेताको वडामा भने मत परिणाम सन्तोषजनक छैन ।
स्थायी कमिटी सदस्यसहित केन्द्रीय कमिटीमा तीन जना र प्रदेशमा अध्यक्षसहित ११ जनाको प्रतिनिधित्व रहेको छ । स्थायी कमिटी सदस्य थममाया थापा, प्रदेश कमिटी सदस्यहरू खुमबहादुर बानियाँ र सुरत केसीको वडा बेनी नगरपालिका ८ मा गत स्थानीय निर्वाचनमा एक जना सदस्य नेपाली कांग्रेसले जितेको थियो भने अरु सबै एमालेले हात पारेको हो । त्यसैगरी केन्द्रीय कमिटी सदस्य भूपेन्द्रबहादुर थापाको बेनी नगरपालिका–१ मा एमाले प्यानलले जित्यो । केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुन, प्रदेश कमिटी सदस्यहरू सृजना केसी र पुस्कर बिकको मंगला गाउँपालिका १ मा पनि एमालेकै प्यानल विजयी भयो । त्यसैगरी गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माको मालिका गाउँपालिका–७ मा प्यानल विजयी भएको थियो । प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुको मालिका ६ मा पनि प्यानलै पोल्टामा परेको हो ।
जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ र प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठको वडा बेनी नगरपालिका ७ भने एक जना सदस्य रमेश फगामी एमालेले जित्दै गर्दा अन्य सबै पदमा कांग्रेसले विजय हासिल गरेको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य किरण सापकोटाको बेनी नगरपालिका २ मा कांग्रेसले जित्यो । जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदीको रघुगंगा ३ तथा प्रदेश कमिटी सदस्य देवेन्द्र केसीको वडा रघुगंगा गाउँपालिका–२ मा भने एमाले प्यानल विजयी भएको छ ।
प्रदेश कमिटी सदस्य मुना बानियाँको बेनी नगरपालिका ६ मा एमाले प्यानल विजयी हुँदै गर्दा अर्की प्रदेश सदस्य हेमकुमारी पुनको अन्नपूर्ण गाउँपालिका– ८ पनि एमालेकै पोल्टामा छ । एमाले सचिव थमसरा पुनको वडा धवलागिरी गाउँपालिका ४ मा प्यानलै एमालेले जितेको थियो । त्यसैगरी उपसचिव खड्ग गिरीको वडा अन्नपूर्ण गाउँपालिका ६ मा कांग्रेसले बाजी मार्दा अर्का उपसचिव सतप्रसाद रोकाको वडा मंगला गाउँपालिका– २ मा एमालेले बाजी मारेको थियो ।
जिल्ला प्रदेश र केन्द्रीय स्तरका १९ जना नेता रहँदै गर्दा तीन वटा वडा भने अर्को पार्टीले जितेको छ । बेनी नगरपालिका २, ७, अन्नपूर्ण गाउँपालिका ६ मा अर्को पार्टीले जित हासिल गरेको देखिन्छ । समग्रमा हेर्दा १४ वटा वडामा १९ जना नेता रहँदै गर्दा तिनका ११ वडामा मात्रै जित हासिल गरेको देखिन्छ ।
पालिका प्रमुखमा ६ मध्ये चारवटा जित हात पार्दै गर्दा उपप्रमुख भने तीन ठाउँबाट मात्रै जितेको थियो । धवलागिरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जिते भने रघुगंगाका दुवै पदमा कांग्रेस विजयी भएको थियो । बेनी नगरपालिकामा एमालेले प्रमुख जित्दा उपप्रमुख माओवादीले लग्यो । मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा भने प्रमुख उपप्रमुख दुवै एमाले विजयी भएको थियो । पछिल्लो स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समिति समेत जितेको थियो । म्याग्दीमा एमालेले २०४८ सालमा समेत संसदीय निर्वाचन जितेको हो । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सभापति र उपसभापतिसहित बहुमत इलाका सदस्य जितेको एमाले २०७९ को संघीय र प्रदेश सांसदमा पराजित भयो । म्याग्दीबाट एमालेका नेताहरू संघीय मन्त्री, प्रदेशमन्त्रीसहित प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष नै जितेको जिल्ला हो । पछिल्लो समय राजनीतिक रूपमा देखिएको अलमलको अवस्था चिर्नका लागि म्याग्दीबाट नेतृत्वदायी भूमिका खेल्ने नेताहरूको भूमिका थप सशक्त हुनु पर्ने कार्यकर्ताहरूको माग रहेको छ ।
– अमृत बास्कुने
टिप्पणीहरू