ईश्वरले भीम रावलको बाटो नरोज्ने

ईश्वरले भीम रावलको बाटो नरोज्ने

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा पराजित भएपनि आफू एमालेमै रहने बताएका छन् ।

आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरेका उनले प्रतिष्पर्धामा जानेहरूले पराजय पनि स्विकार गर्नुपर्नेमा जोड दिँदै त्यसप्रति आफू सचेत रहेको स्पष्ट पारे । आज आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले पराजय हार-जित दुबै स्वीकार रहेको दोहोर्याए । 

'एउटा समस्या हामीमा के छ भने प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारमा रहेको कमजोरी हो', उनले भने, 'हामी दृढतापूर्वक के कुरामा उभिन्छौँ भने प्रतिष्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ । हामी जित्दा मात्रै खुशी हुने होइन । जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धामा जानेहरुले यो मानसिकता बनाउनु पर्दछ भन्ने कुरामा हामी सचेत छौँ ।'

पराजय भोग्नुपरे पनि माधव नेपाल र भीम रावलहरूको जस्तो छुट्टै पार्टी खोलेर जाने दृष्टान्त आफ्नो हकमा लागू नहुने उनको भनाइ छ । यद्यपि आफ्नो समूहले विजय हासिल गर्ने विश्वास पोखरेलको छ । 

'एउटा दृष्टान्त बनेको छ भीम रावलजी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन', स्पष्ट पार्दै भने, 'हामी प्रतिस्पर्धा गर्छौ । प्रतिस्पर्धा गरेर विजय प्राप्त गछौ भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो कुरा भएन भने पनि हामी नेकपा एमाले भएर नेकपा एमालेको पक्षमा नेकपा एमाले भएर सधैं रहिरहन्छौ । यसमा किञ्चित पनि तलमाथि हुँदैन ।’'

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको पनि बताएका छन् ।

टिप्पणीहरू