जेठमै भएको थियो ओली हेलिकोप्टरबाट भाग्ने कुरा !
कहिलेकाहीँ अतित र भविष्य यस्तो मझधारमा संयोग बनेर ठोकिन्छ कि वर्तमान निरीह बनिदिन्छ ।
जेन-जी प्रदर्शनको क्रममा भदौ २४ गते युवाहरूले बालुवाटार घेराउ गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हतार-हतारमा सैनिक हेलिकोप्टरबाट भाग्नुपर्यो । प्रधानमन्त्रीको सरकारी निवाससमेत असुरक्षित होला भनेर सायदै कसैले कल्पना गरेको हुन्छ, तर अब यो यथार्थ बनिसकेको छ ।
स्मरणीय तथ्य चैं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भने गत जेठमै ओली बालुवाटारबाट भाग्नुपर्ने दिन धेरै लामो नभएको दाबी गर्नुभएको थियो । त्यतिबेला लिङ्देनले ‘भाग्नलाई तयार हुनुस्’ भनेपछि ओलीले संसदको रोष्ट्रमबाट ‘कहाँ भाग्ने ?’ भन्दै प्रतिप्रश्न गर्नुभएको थियो ।
‘एक जना माननीयले कि राजा ल्याउने सम्झौता गर नत्र भाग्न तयार हौँ भनेको सुनेँ, कहाँ भाग्ने ? (हाँस्दै) एउटा थोत्रो संस्थाले नेपाली जनतालाई लल्कार्ने ? कोही भाग्दैन’, ओलीको भनाइ थियो, ‘हामीलाई भन्नुभएको होला भाग्ने भनेर, हामी त बुढा भइसक्यौँ, भाग्नलाई कुद्न सक्दैनौँ, बरु तपाईहरुजस्तो जवान भाग्नलाई मिल्छ ।’
ओलीको उक्त प्रतिक्रियापछि लिङ्देनले पनि केही दिनपछि पुनः एक कार्यक्रममार्फत् भाग्नलाई सहयोग गर्ने बताउनुभएको थियो । उहाँले जवाफ फर्काउँदै भन्नुभएको थियो, ‘प्रधानमन्त्रीज्यूले बुढो भइसकेँ, कुद्न सकिदैँन भन्नुभयो, तर चिन्ता गर्नुपर्दैन, हामी हेलिकोप्टरबाट भाग्ने मौका दिएर सहयोग गर्छौ ।’
नभन्दै भदाै २४ गते ओली बालुवाटार छाडेर सैनिक हेलिकाेप्टरबाट निस्कनुपर्याे ।
टिप्पणीहरू