चाडपर्वमा उच्छृङ्खल गतिविधि नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्व मनाउने नाममा उच्छृङ्खल गतिविधि नगर्न सबैलाई सचेत गराएको छ ।
दशैं, तिहार, छठ पर्व मर्यादित, अनुशासित तथा व्यवस्थित ढंगले मनाउन आग्रह गर्दै कानून विपरीत गतिविधि गरिएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ । सिडिओ कार्यालयद्धारा आज जारी सूचनामा आतिबाजी, पटाका, भुइचम्पा, बम वा अन्य कुनै विस्फोटक, आगलागी हुने पदार्थको किनबेच, ढुवानी र प्रयोग नगर्न, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला नगर्न भनिएको छ ।
त्यस्तै, धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अत्यावश्यक वस्तुमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, म्याद नाघेका वस्तु बेचबिखन गर्नेजस्ता कार्य नगर्न पनि सचेत गराइएको छ ।
‘सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने गराउने,’ सूचनामा उल्लेख छ, ‘गैरकानूनी रुपमा चिठ्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने अवैध कारोबार वा विद्युतीय माध्यमबाट समेत ठगी नगर्ने हुन नदिने ।’
कोही कसैले यस्तो क्रियाकलाप गरेको पाइएमा नजिकैको सुरक्षा निकाय वा प्रहरी इकाईमा जानकारी गराउन अनुरोध गर्दै सिडिओ कार्यालयले त्यसमा संलग्नलाई कानूनबमोजिम कारबाही गर्ने बताएको छ ।
टिप्पणीहरू