भारतबाट नेपाल छिर्ने बितिक्कै भव्य स्वागत

भारतबाट नेपाल छिर्ने बितिक्कै भव्य स्वागत

हिजो बिहान ९ बज्नै लाग्दा नेपाल–भारत दसगजा नजिकैको बेलहिया नाकामा फरक माहौल देखियो। सामान्यतयाः नेपाल–भारत आवतजावतमा हतारिने यात्रुहरू केहीबेर रोकिँदै राष्ट्रिय गीतसँगै विशेष स्वागत कार्यक्रममा सहभागी भए।

विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट्स (नाट्टा) लुम्बिनीले नेपाल प्रवेश गर्ने पहिलो चार जना विदेशी पर्यटकलाई खादा, माला र बुद्ध अंकित मायाको चिनो प्रदान गरी सम्मान गरिएका थियो ।

अस्ट्रेलियाकी बारबरा डोरा र नेदरल्याण्डका मार्सल कैयबरसँगै दुई जना भारतीय पर्यटक डा. सञ्जय सिंह र विनोद मिश्रा सम्मानित भए । अप्रत्याशित सम्मान पाउँदा उनीहरू खुसीले गदगद बने। डोराले सीमा नजिकै गरिएको स्वागतले नेपालप्रतिको माया अझ बढेको बताइन् भने कैयबरले नेपाल प्रवेशद्वारमै यति ठूलो सम्मान पाएपछि गाउँठाउँमा अझ कस्तो सत्कार पाउँछु भन्ने कौतुहलता जागेको प्रतिक्रिया दिए।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै विदेशी पर्यटकको स्वागतमा सबैले विशेष ध्यान दिनुपर्ने बताए। नाट्टा लुम्बिनी अध्यक्ष चन्द्रबहादुर थापाले निजी क्षेत्र र सरकारले मिलेर पर्यटकको सहजताका लागि काम गर्नुपर्नेमा जोड दिए।

बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले विदेशीलाई आकर्षित गरिरहेको बेला सबै नेपाली समता भावसहित एकताबद्ध भई पर्यटन प्रवद्र्धनमा लागेमा देश विकास हुने धारणा राखे। पर्यटन व्यवसायी सागर अधिकारीले गुणस्तरीय पर्यटकको बसाइ लम्ब्याउन सके मात्र पर्यटन विकास सम्भव हुने बताए।

नाट्टा लुम्बिनीले सम्मानित पर्यटकको पहिलो गन्तव्यसम्मको यातायात र एक रातको होटल खर्चको व्यवस्था गरेको छ। यसैबीच, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलले पर्यटन दिवसको अवसरमा मोटरसाइकल ¥याली आयोजना गरेको छ।

अध्यागमन कार्यालयका अनुसार बेलहिया नाकाबाट मात्रै यो वर्ष सेप्टेम्बर २५ सम्म ५८ देशका ६३ हजार ७९३ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी १९ हजार ८३५ जना श्रीलङ्काली हुन् ।
 

टिप्पणीहरू