पार्टी सभापति देश छोडेर नभाग्ने कांग्रेस प्रवक्ताको प्रष्टोक्ति

पार्टी सभापति देश छोडेर नभाग्ने कांग्रेस प्रवक्ताको प्रष्टोक्ति

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा देश छोडेर भाग्न लागेको भनी भ्रमपूर्ण प्रचारवाजी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

आफ्नो हत्या गर्न आउँदैछन् भन्दा पनि घर छाडेर नहिँड्ने देउवा भागेर कतै नजाने उनले स्पष्ट पारे । ‘सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन’, आज पत्रकार सम्मेलन गर्दै महतले भने । 

यसअघि देउवा दम्पत्तिले नयाँ राहदानी बनाएर थाइल्याण्डको भिसा लगाएको पाइएपछि सरकारले उनीहरुको राहदानी रोक्काको प्रक्रिया शुरु गरेको खबर बाहिरिएको थियो । महतले पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्न खोजिएको दाबी गरे । 

‘उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ’, उनले भने, ‘पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन ।’ 

सभापति देउवा लोकतान्त्रिक आन्दोलनमा निरन्तर लडेको व्यक्ति भएकाले अहिलेको घटनाबाट पनि बिचलित नहुने महतको भनाइ छ । 

फरक प्रसंगमा उनले नेतृत्व परिवर्तनका लागि पार्टीमा चलिरहेको बहसलाई केन्द्रीय समितिमार्फत टुंगोमा पुर्याइने बताए । केन्द्रीय समिति बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टीपंक्तिमा उत्साह भर्ने महतको जिकिर छ ।
 

टिप्पणीहरू