‘श्रम संस्कृति पार्टी’ को अध्यक्ष हर्क साम्पाङ

‘श्रम संस्कृति पार्टी’ को अध्यक्ष हर्क साम्पाङ

लामो समयदेखि राजनीतिक पार्टी खोल्ने तयारी गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्ततः दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताको लागि आवश्यक कागजातसहित आयोगमा निवेदन बुझाएका हुन् । 

०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेर धरान उपमहानगरपालिको मेयर निर्वाचित बनेका साम्पाङले गत वर्ष नै राजनीतिक पार्टी खोलेर ०८४ (तत्कालिक अवस्था) को निर्वाचनमा भाग लिने उद्घोष गरेका थिए । तर जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको र चुनावको मितिसमेत घोषणा भइसकेको अवस्थालाई मध्यनजर गर्दै साम्पाङले असोज ७ गते नै दल दर्ताको लागि निवेदन दिएको बुझिएको छ । 

धरानको मेयर निर्वाचित भइसकेपछि ‘श्रम अभियान’ चलाउँदै आएका साम्पाङ अन्तरिम सरकारमा सहभागी हुन दौडधुप गरेका थिए । तर उनलाई जेन जी प्रदर्शनको स्टेक होल्डर दावी गर्ने समूहले खासै वास्ता नगरेपछि दल खोल्ने निर्णयमा पुगेको बताइन्छ । 

निर्वाचन आयोगले भने साम्पाङले पेश गरेको कागजातमाथि अध्ययन भइरहेको र केही दिनमा दर्ताको निर्णय हुने बताएको छ ।

टिप्पणीहरू