अनियमिततामा मुछिएका कार्यालय प्रमुख मन्त्रालयमा तानिँदै, छानबिन समिति गठन
अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग घूस मागेको, मोलमोलाहिजा गरेको, अनावश्यक दुःख–हैरानी दिएको लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्रालयमा तानेको छ ।
दुवै जनाको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ । सवारी परीक्षण कार्यालयमार्फत अन्तर–प्रादेशिक सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षण गर्ने लगायतका काम हुने गरेको छ ।
उक्त कार्यालयमा भएको अनियमितताबारे सेवाग्राहीले प्रमाणसहितको गुनासो ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङलाई दिएका थिए । त्यसपछि मन्त्री घिसिङले तत्काल दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री घिसिङले मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको छ । समितिलाई १० कार्य दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।
समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन–अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश पाएको छ ।
टिप्पणीहरू