हनुमानढोकामा गोरखाको फूलपाती वैदिक विधिअनुसार भित्र्याइयो
परम्परागत धार्मिक संस्कारअनुसार आज गोरखा दरबारबाट पठाइएको फूलपाती राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा विधिपूर्वक भित्र्याइएको छ।
गोरखा दरबारको दसैंघरबाट बिहान साढे सात बजे बाजागाजासहित फूलपातीको डोली निकालिएको थियो। सतिपीपलस्थित चौतारासम्म दरबारका सुसारेहरूले काँधमा बोकेर ल्याइएको फूलपाती त्यहाँबाट मोटरमार्ग हुँदै काठमाडौं ल्याइएको हो।
धार्मिक विश्वासअनुसार गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याएपछि मात्र दशैंघरको विधि–विधान औपचारिकरूपमा सुरु हुन्छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको सत्ता हनुमानढोकाबाट सञ्चालन गर्न थालेपछि बडादसैंको सातौं दिन फूलपाती गोरखाबाट काठमाडौं ल्याउने परम्परा निरन्तर रहँदै आएको हो।
अघिल्ला वर्षमा धादिङको जिवनपुर र नुवाकोट हुँदै पैदल यात्रा गरेर फूलपाती राजधानी पुर्याइन्थ्यो। तर २०६६ सालदेखि मोटरबाटोको प्रयोग गर्दै हनुमानढोका भित्र्याउने चलन स्थापित भएको छ।
आज बिहान गोरखाबाट ल्याइएको फूलपाती वैदिक मन्त्रोच्चारणसहित दसैंघरमा प्रवेश गराइएको छ। यससँगै काठमाडौं दरबार परिसरमा औपचारिक रूपमा दशैंघरको कार्यारम्भ भएको घोषणा गरिएको छ।
टिप्पणीहरू