एमालेमा तल्लो तहका कार्यकर्तालाई मात्रै तनाव

एमालेमा तल्लो तहका कार्यकर्तालाई मात्रै तनाव

मुलुकलाई एक किसिमले खरानी बनाएको जेन–जी विध्वंशमा राजनीतिक रूपमा सबैभन्दा ठूलो नोक्सानी नेकपा एमालेलाई पुगेको छ । कार्यकर्ता र समर्थकहरूबाट नेतृत्व परिवर्तनको कुरासमेत पार्टीभित्र सघन रूपमा उठिरहेको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टी बचाउनुपर्ने आवाज सुनिएको छ । 

पद र सत्ताप्रति ओलीको अधिक मोह र अहंकारयुक्त प्रवृत्तिका कारण मुलुकले विध्वंश व्यहोर्नुपरेको कार्यकर्ताहरूको भनाइ छ । सैनिक ब्यारेकबाट भक्तपुरको गुण्डु फर्किएका ओलीले नेतृत्व छोड्ने वा कुनै प्रायश्चित गर्ने संकेतसम्म नदेखाएपछि कार्यकर्ता र समर्थकहरू भने एमालेमै रहने या नरहने सम्मको विकल्पमा छलफल गर्न थालेको बताइन्छ । 

भदौ २४ र २५ गते नै केहीले राजीनामासमेत सार्वजनिक गरेका छन् । लामो समयसम्म सचिवालय बैठकसमेत आह्वान नगरेका ओलीले डेरामै नेतालाई एक–एक गरी भेटेर बैठक बोलाएपछि नेतृत्व नसच्चिने तहमा रहेको कार्यकर्ताले लख काट्न थालेका हुन् ।

चिया गफदेखि सामाजिक सञ्जालसम्म एमालेमा नेतृत्व सच्चिने कि सकिने दुई विकल्प मात्र रहेको भन्दै केहीले वर्तमान महासचिव शंकर पोख्रेलसम्मले नेतृत्वको दाबी छोडेर युवालाई नेतृत्व दिनुपर्ने मत जाहेर गरिरहेका छन् । केहीले भने विदेशी शक्तिले एमालेमाथि प्रहार गरेकाले यतिखेर नेतृत्वको विकल्प खोज्नु ठीक नभएको बताएका छन् । एमाले इलामका अध्यक्ष गणेश बराल पाँच–छ महिनापछि महाधिवेशन हुने भएकाले अहिले नेतृत्व परिवर्तनको कुरा असान्दर्भिक भएको बताउँछन् ।

एमाले फाकफोकथुम गाउँपालिकाका अध्यक्ष अर्जुन लिम्बूले भने तल्लो तहसम्म नेतृत्व परिवर्तनको आवश्यकता महशुस भएको बताए । उनले भने, ‘आफ्नै कारणले विध्वंश भयो, अबको निर्वाचनमा जनताको आँगनमा जान सकिने अवस्था छैन, यसैले युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । सक्षम र परिपक्व युवालाई नेतृत्व हस्तान्तरण गर्दै हालको नेतृत्वले विगतको कमजोरीप्रति माफी माग्नुपर्छ ।’

एक जना युवा कार्यकर्ताले एमालेमा नेतृत्व हस्तान्तरणको छाँट नदेखेपछि फेसबुकमा आक्रोश पोखेका छन्, ‘प्रिय नेताज्यूहरू ! मूर्दाघाटबाटै कपाल मुण्डन गरेर जनवादी केन्द्रीयताको खोल ओढ्ने कि ग्रासरुटको प्राण खरानीबाट उठ्ने ?’

जिल्ला सदस्य दिनेश ढकालले ओलीसँगै महासचिव शंकर पोख्रेलसमेतले नेतृत्वको आकांक्षा त्यागेर पदाधिकारीभित्रकै निष्कलंक एक जनालाई अध्यक्ष बनाउनुपर्ने बताएका छन् । एमाले इलाम नगरपालिकाका सचिव प्रकाश घिमिरेले पार्टी हाँक्ने सक्षम युवालाई नेतृत्व दिनुपर्ने बताए । उनी आक्रोश पोख्छन्, ‘शंकर पोख्रेल र महेश बस्नेतको कुरा सुन्दा कन्सिरीको रौं तातेर आउने म मात्र हो कि छौँ हौं अरु पनि ? तिमीहरू अब नबोल । अरु नयाँ, स्वच्छ छविका, इमानदार र भिजन भएकाले सम्हाल्छन् पार्टी । तिमीहरू भन्दा गतिला मान्छे छन् भन्ने पनि बुझ्नु !’

जेन–जी प्रदर्शन र विध्वंशले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै नेतृत्व परिवर्तन हुनुपर्ने एमाले इलाम नगरपालिकाका अध्यक्ष ठाकुरनारायण श्रेष्ठ बताउँछन् । उनले भने, ‘नेतृत्व दोहोरिने, तेहेरिने प्रवृत्तिले युवाहरूलाई उकुसमुकुस भएको छ । नेकपा एमाले इलामका सचिवालय सदस्य धिरेन चेम्जोङ एमाले र कांग्रेसमा नेतृत्व हस्तान्तरण गरेर शंकर पोख्रेल र गगन थापाले नेतृत्व लिनुपर्ने बताउँछन् ।’

उनले थपे, ‘मनुष्यलाई भगवानझैं पूजा गरे घमण्डी, अहंकारी र तानाशाह बन्छ भन्ने कुरामा कार्यकर्ताले पनि ध्यान दिनुपर्छ । पार्टीका लागि इमानदार सिपाही बनेर काम गरिरहेका गाउँका कार्यकर्ताहरू यही नेतृत्व रहे एमालेका लागि कुन मुखले मत माग्न सकिन्छ भनेर प्रश्न गरिरहेका छन् ।’

तर, नेतृत्वले भने तल्लो तहका कार्यकर्ता र समर्थकको मनोभावनालाई बुझ्ने र सोहीअनुसार सच्चिने अपेक्षा कम मात्र गर्न सकिने जिल्ला तहका कार्यकर्ताले बताएका छन् ।

टिप्पणीहरू