सडकको अवस्था बुझ्न तीन जिल्लाको संयुक्त अपिल
पृथ्वी राजमार्ग अन्तर्गत कोत्रे– मुग्लिन नागढुंगा एवम् नारायणगढ–मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी साधन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहलमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिँदै आएको छ ।
यसैबीच आजदेखि आगामी सोमबारसम्म मुलुकका विभिन्न भेगमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र वर्षाले सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयहरुले तीनै जिल्लाका डीएसपी र ट्राफिक इन्स्पेक्टरहरुलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी दिइएको छ ।
यो बेला यात्रुहरुलाई सकेसम्म राति यात्रा नगर्न तथा अत्यावश्यक बाहेक दिनमा पनि यात्रा नगर्न सार्वजनिक अपिल गरिएको छ । मालबाहक ठूला सवारी साधन पनि सकेसम्म २० गतेसम्म नचलाउन भनिएको छ ।
पूर्वानुमान बमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरुमा आवागमन बन्द गनुपर्ने अवस्थासमेत आउन सक्ने भएकोले यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको हो ।
यसका लागि यी तीन जिल्लाले आज एकसाथ निकालेको संयुक्त सूचनामा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रनाउ प्रकाश दाहाल (९८५१२२९८६०), जिल्ला प्रहरी कार्यालय तनहुँका प्रनाउ शरणकुमार विक (९८५६०६२२५५), जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्मा (९८५५०१७०९९), जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रनि सुरज श्रेष्ठ (९८५१३२२५६४) र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रनि कृष्णबहादुर चन्द (९८५६०९०७९९) लाई सम्पर्क गर्न सूचित गरिएको छ ।

टिप्पणीहरू