देउवाको दु:ख र रोकिएको यात्रा
पाँचपटक देशको कार्यकारी प्रमुख भएका कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणा घरमै कुटिए । भदौ २४ गते जेन-जी आन्दोलनको नाममा मच्चाइएको विध्वंशले बूढानिलकण्ठस्थित उनीहरुको निवास खरानी भयो । विध्वँशकारीको आक्रमणमा गम्भीर घाइते भएका देउवा दम्पती उपचारपछि पनि सार्वजनिक भएका छैनन् ।
यसबीच आरजूका भाइ भुषण राणाको घरमा प्रहरीले छापा मारेको छ । गत साता सिआइबीबाट खटिएको टोलीले जावलाखेलस्थित राणाको घर खानतलासी गरेको थियो । आरजुमाथि भाइमार्फत विभिन्न डिल गर्ने गरेको आरोप लाग्दै आएको छ । यसरी सबैतिरबाट अप्ठेरोमा परेको देउवा दम्पती विदेश जानबाट पनि रोकिएको पाइएको छ ।
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँ उपचारका लागि विदेश जाने तयारीमा रहेका उनीहरु अन्तिम समयमा रोकिनुपरेको हो । जानकार स्रोतका अनुसार देउवा र आरजु सेप्टेम्बर २८ मा थाइल्याण्डको राजधानी बैंकक उड्ने तयारीमा थिए । र,थाई एयरवेजको टिकटसमेत बुक भैसकेको थियो । तर, अध्यागमनका कर्मचारीबाट सहयोग नहुने बुझेपछि उनीहरु एयरपोर्ट जान हच्किएको स्रोतले खुलायो ।
देउवा र आरजु सेप्टेम्बर २८ मा थाइल्याण्डको राजधानी बैंकक उड्ने तयारीमा थिए । र,थाई एयरवेजको टिकटसमेत बुक भैसकेको थियो ।
बताइएअनुसार सभापतिको बिदाईका लागि निश्चित संख्यामा केही कांग्रेस कार्यकर्तालाई खबर गरिएकोमा पाँच दर्जन भन्दा बढी एयरपोर्टमा भेला भएका थिए । त्यसपछि शेरबहादुर देउवा भाग्न लागेको हल्ला चल्यो र विमानस्थलका कर्मचारी डराए ।
'भाग्न लागेको भन्ने भएपछि थाई एयरवेजका कर्मचारी, अध्यागमन र प्रहरीले मोबाइल स्विचअफ गरे', स्रोतले विवरण सुनायो, 'त्यसपछि टिकट काटिसकेका देउवा दम्पतीले एयरपोर्ट जान खोजेनन् । पासपोर्ट रोक्काको चर्चा चलेको पनि त्यतिबेलै हो ।'
यता, देउवा दम्पती उपचारको बहानामा विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क गराएको थियो । किनभने त्यसअघि असोज ३ गते उनीहरुले अस्पतालबाटै नयाँ राहदानी लिएको तथ्य सार्वजनिक भैसकेको थियो ।
राहदानी विभागसङ्गैको कन्सुलर सेवा बिभागमा कार्यरत एकजना कांग्रेस कार्यकर्ताले अस्पतालमै बायोमेट्रिक गराएर राहदानी बनाइदिएको सूचना अध्यागमनसम्म पुगिसकेको थियो । बताइएअनुसार देउवा दम्पतीको पासपोर्ट बनाइदिने व्यक्ति क्रिशु क्षेत्री हुन् । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्री (दुबसु) का सहोदर भाइ यिनी परराष्ट्रमा 'रुख छापे' भनी प्रचारित छन् । नेपाल सरकारको कर्मचारी भैकन यिनले गगन थापालाई समेत पार्टी राजनीतिबारे फेसबुकबाट अर्ति दिने गरेको देखिन्छ ।
देउवा परिवारलाई रिझाएर सुवेदी दाजुभाइले लामो समयदेखि परराष्ट्रमा हालीमुहाली चलाएको पाइन्छ । पहिले बेलायतको राजदूत खाएका दुबसुले लगत्तै जापानको नियुक्ति पाए । परराष्ट्र सेवाबाट राजदूत बनेको भनिए पनि आरजूसँग खास सम्बन्ध भएकै कारण उनलाई पटक–पटक त्यस्तो अवसर मिलेको काँग्रेसीहरू नै स्वीकार गर्छन् ।
बेलायतमा रहँदा राजदूत भएका बेला दुबसुले फुटबल खेल्दा लडेर घाइते भएका देउवापुत्र जयवीरसिंहको राम्रो हेरचाह गरेको चर्चा थियो । त्यसबेला आरजूलाई ६ महिना पालेर जयवीरलाई दूतावासमै राखी राम्रो स्याहारसुसार गरेकै कारण देउवा प्रधानमन्त्री भएका बेला उपहारस्वरूप उनी जापानको राजदूत बनाइएको भन्नेहरू धेरै छन् । त्यसवापत दुबसुले पनि जापानमा आरजुको हिपको उपचार गराउन सक्योग गर्दै आएको बताइन्छ ।
तर, देउवा निकट स्रोतले भने विदेश भाग्न लागेको भन्ने कुरा खण्डन गर्दै त्यसलाई मिथ्या आरोप भनेको छ । 'उहाँहरूमाथि यत्रो आक्रमण भयो । घर ध्वस्त पारिएको छ । कहाँ बस्ने भन्ने टुंगो छैन । फेरि आक्रमण हुनसक्ने खतरा पनि छँदैछ । तैपनि उहाँहरू भाग्ने कुरा छैन', स्रोतले भन्यो ।
टिप्पणीहरू