गृहमन्त्रीसँगको भेटमा लिखित आपत्ति

गृहमन्त्रीसँगको भेटमा लिखित आपत्ति

जेन–जी प्रदर्शन र विध्वंशमा भएको तोडफोड, आगजनी, लुटपाट र आतंक फैलाउने गतिविधिमा संलग्नमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरिएको छ । धर्मराज तिमिल्सिनाले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर त्यसबारे लिखित निवेदन बुझाएका हुन् ।

उनले आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या र आतंक फैलाउने कार्यविरुद्ध कानूनअनुसार कारबाहीको माग गरेको बताए । 

तिमिल्सिनाले लेखेका छन्, ‘जेन–जी विध्वंशमा गरिएको तोडफोड, लुटपाट, आगजनीमा संलग्नलाई पक्राउ नगर्न गृहमन्त्रीले प्रहरीमाथि दबाब दिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न र आगजनी, नास तथा क्षति भएका राज्य संरचनाहरू पुनःनिर्माण गर्न गृह मन्त्रालयमा निवेदन पेश गर्दछु।’

उनका अनुसार उक्त अमानवीय गतिविधिले सर्वसाधारणको जीवन त्रासदीपूर्ण बनाएको मात्र नभई संविधान प्रदत्त मौलिक हक र मानव अधिकारको हरण, हनन र हस्तक्षेप पनि भएको छ ।

निवेदनमा उल्लेख गरिएको छ, ‘त्यस्तो गतिविधि प्रचलित कानूनअनुसार दण्डनीय अपराध हो, जसमा विशेषतः मुलुकी अपराध संहिता ऐन, २०७४, संगठित अपराध निवारण ऐन, २०७०, स्थानीय प्रशासन ऐन, २०२८, सार्वजनिक सम्पत्ति संरक्षण ऐन, २०१३ लगायत अन्य कानूनी प्रावधानहरू लागू हुनेछन्।’

सिर्जित विध्वंशकारी मात्र नभई विध्वंश गर्न प्रेरित गर्ने योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने तिमिल्सिनाको माग छ।

साथै उनले विध्वंशबाट पीडितलाई न्याय दिलाउन, सार्वजनिक तथा निजी सम्पत्ति र नागरिकको शान्ति–सुरक्षा सुनिश्चित गर्न प्रभावकारी निवारक उपाय लागू गर्न, प्रहरीको मनोबल उच्च राख्दै शक्ति प्रदान गर्न र विधिको शासन स्थापित गर्न गृह मन्त्रालयसँग अनुरोध गरेका छन्।

टिप्पणीहरू