तत्काल नेतृत्व नछाड्ने मूडमा एमाले अध्यक्ष

तत्काल नेतृत्व नछाड्ने मूडमा एमाले अध्यक्ष

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व नछाड्ने अडान लिएका छन् । जेन–जी प्रदर्शन र विध्वंशपछि पार्टीभित्र र बाहिर नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला उनले आज जिल्ला अध्यक्षहरुलाई भर्चुअल सम्बोधन गर्दै विधानअनुसार अघि बढ्ने स्पष्ट सन्देश दिएका हुन् । 

बैठकमा सामेल एक जिल्ला अध्यक्षका अनुसार ओलीले महाधिवेशनको निर्णयअनुसार आफू अगाडि बढ्ने बताएका छन् । दुई दिनपछि बस्ने सचिवालय बैठक र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टीले ठोस धारणा बनाउने जानकारी दिँदै अध्यक्षले पार्टीको गतिविधि तीब्र पार्न निर्देशन दिएको जिल्ला अध्यक्षले बताए । 

आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य रहँदासम्म अरूले भन्दैमा नेतृत्व छोड्न नसकिने ओलीको निष्कर्ष छ । निवर्तमान प्रधानमन्त्री ओली भदौ २४ को विध्वंसपछि राजीनामा दिएर बालुवाटारबाट सेनाको हेलिकोप्टरमा अज्ञातस्थलमा गएका थिए । 

त्यसयता एमालेमा उनको नेतृत्व क्षमतालाई लिएर चर्को बहस उठिरहेको छ । तर, ओलीले भने यसलाई एमाले र आफूविरुद्धको षड्यन्त्र भन्दै आएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेससँग मिलेर अदालत जाने तयारी एमालेको छ ।

टिप्पणीहरू