प्रहरीमाथि आक्रमण : समाज स्खलित भएको उदाहरण
भदौ २३ को प्रदर्शन र २४ गतेको विध्वंशका घटनामा प्रहरी संगठन सबैभन्दा बढी पीडित बनेको छ । अपराधिक मानसिकताको समूहले प्रहरी र उनीहरूको बर्दीको अपमान गरेका छन् । कर्तव्य निर्वाहका क्रममा रहेका प्रहरीमाथि कुटपिट र अमर्यादित हर्कत गरिएको छ ।
प्रहरीलाई कमजोर बनाउने उद्देश्यले अपराधिक जत्थाले प्रहरी कार्यालयहरूमा आगजनी गरेका थिए । त्यसपछि प्रहरीका बर्दी र हतियार लुटियो । उक्त घटनापछि प्रहरीको मनोबल कमजोर बनेको छ तर पनि प्रहरीहरू आफ्नो कर्तव्य निर्वाहको निम्ति सडकमा खटिरहेका छन्।
विषम परिस्थितिमा समेत ड्युटीमा खटिएका प्रहरीमाथि बेइज्जत र दुव्र्यवहारका घटनाहरू भइरहेको बताइन्छ । प्रहरीको बर्दीप्रति अपमानजनक व्यवहार आन्दोलनपछि पनि जारी छ। केही दिनअघि राजधानीमा दुई प्रहरीमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ ।
सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङले सडक सुरक्षामा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी गाली गरेका थिए। ‘म आफ्नो मान्छे बोलाउँछु, तँ को होेस् ?’ भन्दै उनले प्रहरीलाई धम्क्याएका थिए।
त्यसरी खुलमखुला दुव्र्यवहारको प्रयास गर्ने तामाङ पक्राउ परेका छन्। त्यसैगरी, ट्राफिक जाम खुलाउन खटिएका एक ट्राफिक प्रहरीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मोटरसाइकल चालकले ती ट्राफिक प्रहरीको बर्दी समातेर मुक्का हानेका थिए।
यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। जेन–जी विध्वंसले प्रहरीप्रतिको सामाजिक सम्मानमा कमी ल्याएको छ । प्रहरी र नागरिकबीचको सम्बन्ध नङ–मासुजस्तै हुनुपर्ने हो, तर त्यो भाव कमजोर हुँदै गएको छ। प्रहरी नागरिकको नजिकको सुरक्षा निकाय हो, जसले जनताको कठिनाइमा सबैभन्दा पहिले सहयोग पुर्याउँछ।
प्रहरीविहीन समाज सुरक्षित हुन सक्दैन र दिनरात नभनी खटिएकाले नै नागरिकले घरमा निश्चिन्त निदाउन पाएका छन्। विडम्बना, देशका नागरिकको सुरक्षामा खटिएका प्रहरी नै पछिल्लो समय कुटपिट र बेइज्जतका सिकार बनेका छन्।
जेन–जी आन्दोलनमा प्रहरीमाथि भएको दुव्र्यवहारपछि उनीहरूलाई हेर्ने दृष्टिकोण बदलिएको छ । ‘प्रहरीले के गर्न सक्छ र?’ भन्ने धारणा बढ्दै गएको छ, जसले समाजमा असुरक्षाको भावना फैलाउन बल मिलेको छ। अपराधिक मानसिकता भएका समूहले प्रहरीलाई कमजोर बनाएर अपराधको प्रयास गर्ने निश्चित हुन्छ ।
यदि प्रहरीमाथि आक्रमण भइरहने र सम्बन्धित निकायहरूले त्यसप्रति आँखा चिम्लिने हो भने अपराधी समूह बलियो र राज्य संयन्त्र कमजोर हुँदै जानेछ । यो राज्य र नागरिक दुवैका लागि खतरापूर्ण स्थिति हुने छ ।
प्रहरीको मनोबल खस्कने जोखिम
जहाँ प्रहरीको मनोबल उच्च हुन्छ, त्यहाँ समाज सुरक्षित हुन्छ। प्रहरीलाई कमजोर बनाउनु भनेको अपराधलाई बलियो बनाउनु हो। पछिल्लो समय प्रहरीमाथि भएका नियोजित आक्रमणहरूले उनीहरूको मनोबल कमजोर बनाउने जोखिम बढाएको छ।
यसको प्रत्यक्ष असर समाजमा पर्छ– चोरी, डकैती, हत्या, हिंसा, बलात्कारजस्ता अपराधका घटना बढ्न सक्छन्। त्यसैले प्रहरीमाथि दुव्र्यवहार गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्न आवश्यक छ। प्रहरी संगठनलाई बलियो बनाउन सरकार र समाज दुवैले भूमिका खेल्नुपर्ने जानकारहरूको सुझाव छ।
हिंसा रोकौं, सहकार्य गरौं
सामाजिक सञ्जालमा प्रहरीमाथि भएको दुव्र्यवहारका भिडियोहरू भाइरल भइरहेका छन्। विषम परिस्थितिमा कर्तव्य निर्वाह गर्ने राष्ट्रसेवक प्रहरीप्रति सम्मान गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ता प्रेम शंकरले लेखेका छन् —‘आज सडकमा ट्राफिक खुलाउन खटिएका प्रहरीमाथि आक्रमण भएको छ। यस्तो व्यवहार अस्वीकार्य छ। जिम्मेवारीपूर्वक काम गर्ने सेवकलाई सम्मान गरौं, हिंसा रोकौं र सहकार्य गरौं।’
यज्ञप्रसाद शर्माले भनेका छन्, ‘जनताको सुरक्षामा खटिएका प्रहरीमाथि अश्लील शब्द प्रयोग र गालीगलौज गर्नेहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’
एक प्रयोगकर्ताले थपे — ‘देशमा सुशासन नहुँदा राष्ट्रसेवकप्रतिको सम्मान हराएको छ।’
प्रहरीलाई बलियो बनाऔँ — पूर्व डिआईजी मल्ल
पूर्व डिआईजी हेमन्त मल्लका अनुसार, प्रहरी असुरक्षित हुँदा समाज पनि असुरक्षित हुन्छ। प्रहरीमाथि आक्रमण गर्नु भनेको समाजलाई कमजोर बनाउनु हो। उनले भने, ‘आन्दोलनमा प्रहरीलाई विस्थापित गर्ने काम भयो, जसको असर समाजमै पर्यो। प्रहरी चौकी नहुँदा अपराध नियन्त्रणमा कठिनाइ आयो।’
उनका अनुसार, समाज सशक्त भएमा प्रहरीमाथि दुव्र्यवहार नै हुँदैन। सरकारले प्रहरीको मनोबल बढाउने र संगठन सुदृढ गर्ने काम प्राथमिकतामा राख्नुपर्ने उनले बताए। ‘हाल प्रहरी निकै समस्याजनक अवस्थाबाट गुज्रिरहेको छ,’ मल्लले भने, ‘मुलुकमा कानुन र सुरक्षाको शासन कायम राख्न प्रहरीलाई बलियो बनाउनैपर्छ।’
टिप्पणीहरू