दुई पूर्वमन्त्रीपछि अब कसको पालो ?
पोखराको लिचीबगैंचा जग्गा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालगायत सात जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यसैगरी, दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्रा.डा. संगीता भण्डारीलगायत १३ जनाविरुद्ध आज मुद्दा दर्ता गरिएको छ। आपसी मिलेमतोमा कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी १२ करोड ७ लाख ६ हजार ९४६ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम सो रकम असुलउपर गर्न र प्रतिवादीहरूलाई कैद तथा जरिवानाको सजाय दिन मागदाबी गरेको छ ।
चर्चित व्यक्तिहरूमाथि मुद्दा दायर भएसँगै अब अख्तियारको फन्दा कस–कसमा पुग्छ भन्ने विषयले व्यापक चासो पाएको छ। स्रोतका अनुसार अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको बताइन्छ। विमानस्थल निर्माणमा अर्बौं रुपैयाँ घोटाला भएको भन्दै उनीविरुद्ध अख्तियारमा दर्जनौं उजुरी परेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित युवराज सफलले गत भदौ १ गते अख्तियारमा १२ पृष्ठ लामो उजुरी दर्ता गरेका थिए। त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १२ अर्ब र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि उनीमाथि लागेको छ।
मनाङ विमानस्थल, डोल्पाको मसिनेचौर विमानस्थल र भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्टमा समेत करोडौंको घोटालासम्बन्धी उजुरी परेका छन् । अधिकारीसँगै भिजिट–भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईविरुद्धको मुद्दा पनि ‘पाइपलाइन’ मा रहेको स्रोतको दाबी छ । अख्तियार प्रमुख प्रेमकुमार राई र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको राजीनामा माग्दै जेन जीको एउटा समूहलाई प्रयोग गरिएको पछिल्लो घटनाक्रमलाई कतिपयले उनै अधिकारीको ग्राण्ड डिजाइनसँग जोडेर हेरेका छन् ।
टिप्पणीहरू