‘नागरिकको सहयोग रहेसम्म शान्ति सम्भव’
भदौ २४ गतेको विध्वंशसँगै देशभरका कारागारबाट साढे १४ हजार कैदीबन्दी भागे । सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएपछि मुलुकभरका जेलबाट १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए ।
दशैंको पूर्व सन्ध्यामा ठूलो संख्यामा कैदीबन्दी भाग्दा समाज त्रसित र भयरहित बनेको थियो । एकातिर जेलबाट भागेका कैदीबन्दी, अर्कोतिर विध्वंशका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हातहतियारका कारण समाजमा सुरक्षा चूनौती बढेपनि शान्तिपूर्ण र सुरक्षित रुपमा दशैं सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीको महान् चाड बडादशैं गत सोमबारबाट सकिएको छ ।
प्रायः दशैंमा काठमाडौं उपत्यकासहित मुलुकभर धेरै अपराधिक घटना हुने गरेकोमा यो पटक सुरक्षित रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ । यो पटक दशैंमा सवारी दुर्घटनासँगै अपराधका घटनामा कमी आएको प्रहरीको दाबी छ । गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म देशभर झण्डै एक हजार अपराधिक घटना तथा दुर्घटना भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।
त्यसमध्ये सबैभन्दा बढी ज्यानसम्बन्धी अपराध भएको छ । प्रहरीका अनुसार दशैं अवधिमा ज्यानसम्बन्धी एक सय ८३ वटा घटना भए । त्यसमा पनि कर्तव्य ज्यानका २३, विष खुवाएको एक, ज्यान मार्ने उद्योगका ३७, भवितव्य ज्यान ९०, फुटकर ज्यान २५, गौवध एक र आत्महत्या दुरुत्साहनका ६ वटा घटना प्रहरीमा दर्ता भएको छ ।
त्यसपछि सामाजिक अपराधका एक सय ८२ वटा घटना भएको छ । जसमा सार्वजनिक शान्तिविरुद्ध तीन, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध एक सय ५३, अपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी १८, कुटपिट वा अंगभंगसम्बन्धी आठ वटा घटना प्रहरीमा पुगेको जनाइएको छ ।
प्रहरीका अनुसार यो वर्ष दशैं अवधिमा ७४ वटा सवारी दुर्घटना भए । तीमध्ये सवारी ज्यान ६१ र सवारी अंगभंग १३ वटा छन् । चोरीसम्बन्धी ६८ र आत्महत्याका एक सय ३६ वटा घटना भएको प्रहरीको भनाइ छ । दशैंमा बहुविवाहका पाँच, जबरजस्ती करणीका ४६, जबरजस्ती करणी उद्योगका सात, अप्राकृतिक मैथुन एक, बालयौन दुराचार पाँच र यौन दुव्र्यवहारका एउटा घटना भएको छ ।
यस्तै, संगठित तथा आर्थिक अपराधसम्बन्धी ९६ वटा घटना घटेको प्रहरी तथ्याङ्कले देखाउँछ । जसमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र अपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी दश–दश वटा, लागूऔषधसम्बन्धी ६७, हातहतियार खरखजनाका नौ वटा घटना छन् । बैंकिङ्ग कसुर, साइबर अपराध, पशुपंक्षी, इलाज तथा लिखतसम्बन्धी एक सय ३७ वटा र अन्य विभिन्न १९ वटा घटना दशैं अवधिमा दर्ता भएको पनि प्रहरीले जनाएको छ ।
टीकाको दिन बलात्कारदेखि आमाको हत्यासम्म
दशैंमा ठूला अपराधिक घटना नभएको प्रहरीले दाबी गरेतापनि कतिपय ठाउँमा भने अप्रिय घटना भएको पाइन्छ । विजया दशमीको दिन (असोज १६ गते) सुनसरीमा दशैं मेला घुम्न गएकी एक बालिकामाथि सामूहिक बलात्कार भयो । घटनामा संलग्न तीन जना हाल प्रहरी नियन्त्रणमा छन् । बर्जू गाउँपालिका–६, की १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय बुधनारायण चौधरी, विजय साह र १५ वर्षीय बालक समातिएका हुन् ।
बुटवलबाट दशैं मान्न बर्दिया पुगेकी १० वर्षीया भारती (एनजल) देउवा टीकाको भोलिपल्ट गाडिएको अवस्थामा फेला परिन् । प्रहरीका अनुसार सुनचाँदी लुट्ने क्रममा उनको हत्या भएको हो । घटनामा संलग्न रहेको आरोपमा गेरुवा गाउँपालिकाका २१ वर्षीय समीर तिरुवा पक्राउ परेका छन् । असोज १९ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीमा आफ्नै छोराले आमाको विभत्स हत्या गरे ।
मादक पदार्थ र लागूऔषध सेवन गरेर ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा राममायाको हत्या गरेका थिए । भदौ २४ गतेको जेनजी विध्वंशमा उनले प्रहरीसँग झोक्किँदै भनाभनसमेत गरेका थिए । प्रहरीसँग प्रतिवादमा उत्रिएका उनले आफूलाई गोली हान्न चूनौती दिँदै भनेका थिए, ‘तपाईंहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस् ।’
भागेका कैदी र अपराधीहरुबीच कसरी दशैं सुरक्षित बन्यो ?
जेनजी विध्वंशका क्रममा जेलबाट भागेका साढे १४ हजार कैदीबन्दीमध्ये अझै साढे पाँच हजार कैदीबन्दी फरार रहेका छन् । जसका कारण समाज असुरक्षित छ । सँगै सुरक्षाकर्मीको हजारौं हातहतियार लुटिएको हुँदा फरार कैदीबन्दीको हातमा पुगी दुरुपयोग हुनसक्ने डर छ ।
यसरी हजारौं कैदीबन्दी र हतियारका कारण समाज असुरक्षित रहँदा पनि दशैंमा ठूला अपराधिक घटना नभएको प्रहरीको दाबी छ । नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक (डिआईजी) विनोद घिमिरे विगतको तुलनामा यसपालि दशैं निकै शान्तिपूर्वक सम्पन्न भएको बताउँछन् ।
उनका अनुसार प्रहरी र नागरिकको सक्रियतामा यो सम्भव भएको हो । विध्वंशका क्रममा प्रहरी भवनहरुमा आगजनीसँगै प्रहरीका पोशाक, हातहतियार लुटिएपनि स्थानीय नागरिकको सहयोगमा प्रहरी पुनः स्थापित हुन सफल भएको उनको भनाइ छ ।
‘हामीसँग न पोशाक थियो न हातहतियार । हजारौं कैदीबन्दी समाजमा लुकेका थिए । प्रहरी आफैं पनि पीडित अवस्थामा थियो । जुन पीडा स्थानीय नागरिकहरुले देख्नुभयो,’ प्रवक्ता घिमिरेले भने, ‘हाम्रा भवनहरु बनाइदिनुभयो । हामीसँगै खटिनुभयो । रातको समयमा गस्ती गर्न सघाउनुभयो । त्यसको नतिजास्वरुप दशैंमा ठूला अपराधिक घटना हुन पाएनन् ।’
टिप्पणीहरू