चुनावमा जान सजिलो छैन जेनजीलाई

चुनावमा जान सजिलो छैन जेनजीलाई

चुनाव आउन पाँच महिना मात्र बाँकी छ । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गराउने म्याण्डेट पाएको छ । चुनावलाई लक्षित गरी निर्वाचन तालिका सार्वजनिक भैसकेको छ । जसअनुसार मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ । 

कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेकाले मात्र भाग लिन पाउने आयोगले जनाएको छ । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागु गरिने कार्यतालिकामा उल्लेख छ ।  

निर्वाचनमा भाग लिनका लागि आयोगमा नयाँ दल दर्ता गर्नेहरु बढेका छन् । तर,जसको कारणले निर्वाचन हुन लागेको हो,उनीहरु नै निर्वाचनमा भाग लिने–नलिनेमा पक्का छैनन् ।  प्रतिनिधि सभाको उम्मेदवार हुनका लागि २५ वर्ष उमेर पुरा भएको हुनुपर्नेछ । त्यसैगरी, कुनै लाभको पद बहाल नरहेको व्यक्ति मात्र उम्मेदवार बन्न पाउँछन् । 

जेनजी आन्दोलनमा आएकाहरु १३ देखि २८ वर्षभित्रका हुन् । अधिकांशको निर्वाचनमा उम्मेदवार बन्न उमेर पुग्दैन । अर्कोतिर, चुनावमा उम्मेदवार बन्न ठूलो खर्च लाग्छ । चुनाव लड्दा धेरै नेताले आफ्नो घरखेत नै सिद्धयाएको उदाहरण पनि छन् । चुनावमा उम्मेदवारी दिएर मात्र हुँदैन,जित्नका लागि गाउँ–गाउँमा संगठन चाहिन्छ । राजनीतिक दलहरुले वर्षौं लगाएर गाउँ–गाउँ, टोल–टोलमा आफ्नो संगठन बनाएका छन् । लाखौंको संख्यामा पार्टीहरुका कार्यकर्ता छन् । 

यस्तोमा जेनजीहरु कसरी चुनावमा जालान् ? स्थापित राजनीतिक दलसँग कसरी प्रतिस्पर्धा गर्लान् ? जेनजीहरुको पार्टी,संगठन,कार्यकर्ता केही पनि छैन । जेनजीको नाम दिएतापनि उनीहरुको विचार, सिद्धान्त र एजेण्डा मिल्दैन । जेनजीका समूहहरु ‘असली बाजेका पेडा’ पसलजस्तै भएका छन् । थरिथरिका जेनजी समूहहरु बनेका छन् भने उनीहरुबीच नै मतभेद छ ।

जेनजीको नाममा खुलेका करिब दुई सय संगठन आ–आफ्नो माग बोकेर सरकारलाई दबाब दिँदै हिँडेका छन् ।

जेनजीको वास्तविक समूह कुन हो ? भन्नेमा सर्वसाधारण नै अल्मलिएको अवस्थामा जेनजीहरुलाई चुनाव जित्न निकै चुनौतीपूर्ण देखिन्छ । जनताको विश्वास जित्नु सडकमा कराउनु र सिंहदरबार जलाउनुजस्तो पक्कै पनि सजिलो छैन । जनताको घर घरमा धाउनुपर्छ, हात जोड्नुपर्छ । जेनजीको नाममा चर्चा आएकाहरुको ‘मै हुँ’ भन्ने रबैया सारा दुनियाँले देखिसकेको छ । न उनीहरुले हात जोड्न जानेका छन् न त झुक्न ।

को–को भिड्दैछन् चुनावमा ? 

जेनजी आन्दोलनको अगुवा बनेर चर्चामा आएकाहरु नै चुनाव लड्ने–नलड्नेमा पक्का छैनन् । चुनावभन्दा पनि उनीहरु एकापसमै जुध्नमा केन्द्रित हुँदा जेनजीको उद्धेश्य छायाँमा पर्ने जोखिम बढेको छ । राजनीतिक दलहरुले चुनावको तयारी अगाडि बढाइसक्दा जेनजीहरु दल दर्तामै रुमल्लिएका छन् । निर्वाचन आयोगले छिटोभन्दा छिटो दल दर्ता गर्न भनिरहँदा उनीहरुबीच छलफलसमेत हुन सकेको छैन ।

कसको नेतृत्वमा दल दर्ता गर्ने ? चुनावमा कसरी जाने ? उनीहरुबीच छलफल नै भएको छैन । जेनजीको नाममा खुलेका करिब दुई सय संगठन आ–आफ्नो माग बोकेर सरकारलाई दबाब दिँदै हिँडेका छन् । उनीहरुले गरिरहेका यी गतिविधिको फाइदा राजनीतिक दलहरुलाई हुने राजनीतिक विश्लेषक बताउँछन् । 

एक विश्लेषक भन्छन्,‘उनीहरुले आन्दोलन गरेर सरकार त ढाले तर बाटो समाउन सकेनन् । कसरी अगाडि बढ्ने भन्नेमा उनीहरु अन्धाधुन्ध छन् । निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेकै लामो समय भइसक्यो । अहिलेसम्म दल दर्ताकै निर्णय लिन सकेका छैनन् ।’ आफूलाई जेनजी आन्दोलनको लिडर दावी गर्ने सुधन गुरुङ्ग चुनाव लड्ने छाँटकाँटमा देखिँदैनन् । 

उनी कसरी राजनीतिक दललाई चुनाव लड्नबाट रोक्ने ? भन्नेमा ध्याउन्न छन् । दल दर्ता नहुँदा चुनाव लड्ने सोच बनाएका जेनजी समस्यामा परेका छन् । ‘पर्ख र हेर’ बाहेक उनीहरुसँग अन्य विकल्प नै छैन । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले दल दर्ताको विषयमा छलफल भइरहेको बताए । आफ्नो उमेर पुग्ने बताउँदै उनले चुनावमा उम्मेदवारी दिने जानकारी दिए । उनका अनुसार जेन–जी, जेन–एक्सलगायत अन्य समूहलाई चुनावमा सहभागी गराउनेगरी कुराकानी चलिरहेको छ । 

जनआस्थासँग उनले भने,‘म चुनाव लड्छु । कसरी जाने ? भन्ने विषयमा छलफल भइरहेको छ । अबको केही समयमा दल दर्ता हुन्छ ।’ जेनजी आन्दोलनबाट व्यापक चर्चामा आएकी रक्षा बमले चुनावमा भाग लिने विषयमा आफूले निर्णय लिइनसकेको बताइन् । सुदूरपश्चिमकी उनी हाल काठमाडौंको बुढानीलकण्ठ बस्छिन् । उमेरले २६ वर्ष पुगेकी उनले तिहारसम्ममा दल दर्ताको टुंगो लगाइसक्ने जानकारी दिइन् ।

‘मैले चुनाव लड्ने–नलड्ने कुनै निर्णय लिइसकेको छैन । सम्भवः लड्न पनि सक्छु । अहिले हामी दल दर्ताको छलफलमा केन्द्रित छौं । तिहारसम्ममा निर्णय भइसक्छ ।’ जेनजी आन्दोलनमा समातिएका उत्कर्ष श्रेष्ठले दल दर्ता नभए आफू स्वतन्त्र रुपमा निर्वाचन लड्ने बताए । काठमाडौं महानगरपालिका–३१ का उनले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने जानकारी दिए । 

‘दल दर्ता होस् कि नहोस् म चुनाव लड्ने नै हो । शहिद परिवारको नेतृत्व राखेर दल दर्ता गर्ने हाम्रो योजना छ । त्यसो हुन नसकेमा म स्वतन्त्रबाट उम्मेदवारी दिन्छु’,उनले भने ।

टिप्पणीहरू