विपिनको सम्झनामा दीप प्रज्वलन, मैनबत्ती बोकरै आउन आह्वान

विपिनको सम्झनामा दीप प्रज्वलन, मैनबत्ती बोकरै आउन आह्वान

जेनजीहरुले प्यालेष्टिनी विद्रोही समूह हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् । आज अपरान्ह साढे ५ बजे काठमाडौंको माइतीघर मण्डलामा दियो बाल्न लागेका हुन् । 

जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै दीप प्रज्वलनमा सहभागी हुन आह्वान गरेकी छन् । विपिनलाई फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नगरेको आरोप लगाउँदै उनले सबैलाई आफैं मैनबत्ती बोकेर आउन पनि भनेकी छन् । 

‘विपिन जोशीलाई हमास विद्रोहीहरुले बन्धक बनाइसकेपछि पनि उनलाई फिर्ता ल्याउनका लागि तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल चालेको पाइएन । यसरी भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको छ’,उनले लेखेकी छन् ।

‘अर्न एण्ड लर्न’ कार्यक्रमका लागि इजरायल पुगेका कञ्चनपुरका विपिनलाई दुई वर्षअघि हमासले आक्रमणको क्रममा नियन्त्रणमा लिएर बन्धक बनाएको थियो । उनी जीवितै रहेको आशा गरिएकोमा गत असोज २७ गते इजरायलस्थित नेपाली राजदूतावासले मृत्यु भइसकेको औपचारिक जानकारी दिएको हो ।

टिप्पणीहरू