ओलीले आगोमा घ्यु थप्ने काम गरेको प्रचण्डकाे ठहर

ओलीले आगोमा घ्यु थप्ने काम गरेको प्रचण्डकाे ठहर

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेन जी प्रदर्शनले विध्वंशको रूप लिएको टिप्पणी गरेका छन् । 

आज गृहजिल्ला चितवनमा पार्टी कार्यकर्ता भेटघाट गर्दै उनले ओलीको अहंकारले आजको अवस्था आएको दाबी गरे । भदौ २३ गते १९ जना प्रदर्शनकारीको मृत्यु भइसकेपछि आफूले गोरखाको आरुघाटबाटै ओलीलाई फोन गरेर राजीनामा दिन आग्रह गरेको प्रचण्डले सुनाए । 

‘हामीले उठाउँदै आएका मागहरू अहिले जेन्जी युवाहरूले उठाउनु माओवादीको निम्ति खुशीको कुरा हो’, प्रचण्डले भने, ‘मैले २३ गते युवाहरूको हत्या भइसकेपछि आरुघाटबाटै फोन गरेर उहाँ (ओली)लाई परिस्थिति राम्रोसँग बुझ्न र राजनीमा दिन भनेको थिएँ, तर उहाँले आफ्नो दम्भ छाड्नुभएन, जसकारण २४ गते ऐतिहासिक क्षति हुनेगरी घटना भयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले पनि ओलीको अहंकार देखेर आश्चार्यमा परेको बताएका छन् । ‘गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो’, उनले थपे  ‘यति धेरै जनधनको अत्यधिक क्षति भयो, तर आज पनि कुनै पश्चाताप छैन ।’

भदौ २४ गते युवाहरूलाई उत्तेजित बनाउनुमा ओली प्रवृति मुख्य कारण रहेको प्रचण्डको निष्कर्ष छ । ‘युवाहरूले आफ्नो माग उठाउँदै गर्दा त्यसलाई यति धेरै मिनिमाइज र अपमानित गर्ने कुरा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरे, त्यसले झन् ठूलो उत्तेजना थप्ने काम गर्यो, आगोमा घ्युँ हालेको जस्तै भयो, अहिले पनि उनले घ्युँ नै थपिरहेका छन्’, उनले भने ।

 

टिप्पणीहरू