‘जेन–जी’ आतंक बढ्दै,कर्मचारीदेखि व्यवसायीसम्म त्राहिमाम
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा आएका जेनेरेशन जेड अर्थात ‘जेन–जी’ का नेता भनाउँदाहरु नै कुशासनको बाटो हिँड्न थालेका छन् । जेन–जीको नाममा अराजकता र लुटतन्त्र मच्चाउने काम भइरहेको छ । पुराना पार्टीले देश लुटे भनेर भदौ २३ र २४ गते जेन–जीले गरेको विद्रोहले मुलुकमा सत्तापलट भयो ।
सडकबाट उम्लिरहेको आक्रोशका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए । त्यसपश्चात् उनीहरुकै चाहनाबमोजिम सुशिला कार्की नेतृत्वको सरकार गठन भएको छ । तर, आफैंले बनाएको सरकारबाट उनीहरु सन्तुष्ट देखिँदैनन् ।
ऐनकानुनको धज्जी उडाएर उनीहरुले स्वेच्छा चलाउन थालेका छन् । आफैंलाई सरकार ठानेर उनीहरु सरकारी कर्मचारीलाई निर्देशन र धाकधम्की दिने, थर्काउने, राजीनामा माग्नेलगायतका अनैतिक क्रियाकलाप गरिरहेका छन् ।
जेन–जीको नाममा अराजकता र गुण्डागर्दी मच्चाइएको छ । जेन–जीको लिडर दाबी गर्ने सुदन गुरुङ्ग आफैंमा विवादित पात्र हुन् । ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक उनको विभिन्न मुलुकसँगको अस्वाभाविक सम्बन्धलाई लिएर प्रश्न उठिरहेको छ ।
आफूलाई ‘राजा’ ठान्ने उनी ऐनकानुन टेर्दैनन् । उनी आफूखुशी सरकारी बैठकमा पुग्छन् र कर्मचारीलाई निर्देशन दिन्छन् । गत असोज १८ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पुगेका उनले कर्मचारीलाई ठाडो निर्देशन दिएका थिए ।
सरकारी बैठकमा पुगेर कर्मचारीलाई निर्देशन दिएपछि उनको चर्को आलोचना भएको थियो । त्यसैगरी, उनले कार्कीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुँदा एक महिला सचिवलाई ‘काम गर्न र जुम्रा मारेर नबस्न’ भनेका थिए ।
उनी जतिबेला मनलाग्छ, त्यतिबेला वालुवाटार र सिंहदरबार जान्छन् । मन्त्रालय, सरकारी कार्यालयमा पुगेर उनले कर्मचारीलाई धम्काउँछन् । उनकै बाटोमा जेन–जीका अन्य नेता पनि हिँड्न थालेका छन् । जेन–जीको नाममा आतंक मच्चाउने अर्का व्यक्ति हुन्, अर्जुनकुमार शाही ।
उनले कर्मचारीलाई थुतेर ल्याउनेसम्मको धम्की दिएका थिए । जेन–जी भन्दै उनको समूह विभिन्न कार्यालय जान्थ्यों । आफ्नो माग सम्बोधन नभएमा सडकबाट देखाइदिने चेतावनी दिन्थ्यों । यता, जेन–जीको नाममा एक समूहले हिजो गण्डकी विश्वविद्यालयका कुलपति र रजिष्ट्रारलाई भौतिक आक्रमणको धम्की दिएको छ ।
उनीहरुको राजीनामा माग्दै विश्वविद्यालय पुगेको समूहले ‘बड्ता बोल्ने होइन, यो तपाईँको बाउको बिर्ता होइन, राजीनामा दे नत्र भौतिक कारबाही गर्छौं’ भनेका थिए । आफूहरु पटकपटक जेल पुगिसकेको बताउँदै उनीहरुले कसैबाट नडराउने पनि बताए ।
उता, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमलाकुमारी पराजुलीको राजीनामा मागिरहेका उनीहरुले त्यहाँका कर्मचारीलाई पनि हप्कीदप्की गरेका थिए । उनीहरुदेखि कर्मचारी आजित भइसकेका छन् । विभिन्न माग लिएर आउने र धम्क्याउने प्रवृत्तिका कारण कर्मचारीहरुले काम गर्न सकिरहेका छैनन् ।
जेन–जी नामका अराजक समूहले हातपात गर्ने हुन् कि भन्ने डर उनीहरुलाई छ । केही कर्मचारीले भने जेन–जीको हर्कतको विरोध पनि गर्न थालेका छन् ।
त्रसित व्यवसायी
जेन–जी प्रदर्शनमा निजी व्यवसायी सबैभन्दा बढी टार्गेटमा परे । व्यवसायलाई निशानामा पारेर प्रदर्शनकारीले आगो लगाइदिएका हुन् । निजी क्षेत्रमा खर्बौंको क्षति पुगेको छ । आन्दोलनपछि पनि व्यवसायीलाई च्याप्ने काम भइरहेको छ । भोटेकोशी जलविद्युतको सेयर माग्दै जेन–जीहरुले विद्युत उत्पादन ठप्प पारेका थिए ।
आयोजना लामो समय अवरुद्ध भएपछि कम्पनीले स्थानीयसँग पहिल्यै सम्झौता गरेको ६ प्रतिशतमा ४ प्रतिशत थपेर १० प्रतिशत दिनेगरी सम्झौता गरेको हो । निःशुल्क सेयर माग्दै अन्य जलविद्युत उत्पादन पनि अवरुद्ध गर्ने काम भइरहेको छ । जसले निजी व्यवसायीलाई त्रसित बनाएको छ । आर्थिक मन्दीका कारण बैकको ऋणले थिलथिलो बनाएको निजी व्यवसायीलाई जेन–जी प्रदर्शनमा भएको क्षति र त्यसपछिका अवरोधले पलायन हुनेपर्ने बाध्यता सिर्जना गरिदिएको छ ।
जेन–जीका गैरकानुनी गतिविधिपछि इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारसँग सुरक्षा मागेका छन् ।
अपराधमा मुछिएकाहरु धमाधम जेन–जी
विगतमा विभिन्न अपराधमा मुछिएकाहरु पछिल्लो समय धमाधम जेन–जी बनिरहेका छन् । सजायबाट बच्नका निम्ति उनीहरुले जेन–जीको रुपधारणा गरिरहेका छन् । जेन–जी भन्दै कर्मचारीहरुलाई थर्काउँदै हिँड्ने शाही हिजो पक्राउ परेका छन् । बैंकिङ्ग कसुरदेखि ठगीसम्मका मुद्दा चलिरहेका उनी जेन–जी नेता भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै हिँड्थे ।
त्यसैगरी, प्रधानमन्त्री कार्कीको शपथ ग्रहण कार्यक्रममा पनि उनी पुगेका थिए । प्रधानमन्त्रीसँग उनले तस्विर पनि खिचाएका थिए । जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने अर्का युवकविरुद्ध कर्तव्य ज्यान मुद्दासहित आठ वटा मुद्दा रहेको खुलेको छ । ललितपुर घर भएका ३६ वर्षीय राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, अन्यको पनि धमाधम भण्डाफोर भइरहेको छ ।
अराजकता मच्चाउनेहरुलाई कारबाही गर्न माग
जेन–जीको नाममा भइरहेको उपद्रव र गुण्डागर्दीले समाज, व्यवसायी र सरकारी कर्मचारी त्रसित भएका छन् । प्रहरी कार्यालय जलेको र हातहतियार लुटिएको फाइदा उठाएर जेन–जीहरुले ऐनकानुनको बर्खिलाप गरिरहेका छन् । उनीहरु ‘मै राज्य हुँ’ भनेर दम्भ देखाइरहेका छन् । जसको नागरिकस्तरबाट विरोध हुन थालेको छ ।
नागरिकहरुले जेन–जीलाई ‘आतंकवादी’ को संज्ञा दिँदै कारबाहीको माग गरिरहेका छन् । अराजकता मच्चाउनेहरुलाई कानुनको दायरामा ल्याउनैपर्ने सर्वसाधारण दिकेन्द्र घिमिरेको भनाइ छ । भन्छन्,‘जेनजीको नाममा अराजकता मच्चाउनेहरुलाई कारबाही गर्नैपर्छ ।’
त्रिलोचन लम्सालले कार्यालयमा पुगेर कर्मचारीलाई थर्काउनु अराजकताको पराकाष्ठा भएको बताएका छन् । ‘यो अराजकता पराकाष्ठा भो, जेन–जीको नाममा यसरी जबरजस्ती गर्नु घोर आपत्तिजनक कार्य हो । कानुनी मार्गबाट सुधार गर्न प्रयत्न गर्ने हो । गल्ती देखिएमा कारबाही गर्ने हो तर यस्तो दादागिरी बढदै जान थाल्यो भने त राम्रो मान्छेलाई पनि असर हुन्छ ।’
सुशासनविरोधी गतिविधि अस्वीकार्य
गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनविरोधी गतिविधि अस्वीकार्य भएको बताएका छन् । सरकारी कार्यालयमा गएर कर्मचारी थर्काउनेलाई प्रहरी प्रशासनमार्फत कारबाही गरिने उनको भनाइ छ । अधिकारप्राप्त नभएको व्यक्ति सरकारी कार्यालय गएर धम्काउनु गलत भएको बताउँदै कानुनबमोजिम चल्नुपर्ने जिकिर गरेका छन् ।
टिप्पणीहरू