कठै न्यायालय, मुश्किल छ अझै

कठै न्यायालय, मुश्किल छ अझै

भदौ २४ गते अराजक आन्दोलनकारीले गरेको आगजनीमा सर्वोच्च अदालतको बिल्डिङ मात्रै जलेको ठान्नेहरू धेरै छन् । अझै पनि मजाकमा ‘ठीक गरियो’ भन्दै खरानीमा रमाउनेहरू पनि होलान् ।
सर्वोच्चसँगै जलेका फाइल, मिसिल, फैसला र ऐतिहासिक दस्तावेजको अगाडि भौतिक क्षति सामान्य लाग्न पनि सक्छ ।

प्रधानन्यायाधीश, न्यायाधीश, कर्मचारीलाई बस्ने च्याम्बर नहुँदा, कम्प्युटर र सफ्टवेयर प्रणालीमा क्षति पुग्दा साह्रै मुश्किल परेको अदालत स्रोत बताउँछ । अहिले एउटा ठूलो हलमा गोला तान्ने, बैठक गर्ने काम भइरहेको छ । नयाँ बिल्डिङको पनि अन्डरग्राउन्डमा हावा नै पास नहुने ठाउँमा बसेर काम गर्नुपर्ने स्थिति छ । पार्किङमै काम गर्नुपर्ने अवस्था छ ।

बस्ने र सुन्ने ठाउँ चाहियो, वकिल उभिनुपर्छ, कर्मचारी र फैसला गर्ने न्यायाधीशसहित एकैपटक धेरैलाई ठूलो ठाउँ र फर्निचर आवश्यक पर्छ । तर ठाउँ नभएपछि अफिसरहरू घरमै बसेको स्रोत बताउँछ । सर्वोच्चमा अरू अफिसरबाहेक तीन सय त उपसचिव नै छन् । छ–सात सय स्टाफलाई बस्ने ठाउँको अभाव छ ।

भदौ २४ गते केही न्यायाधीशले पछाडिको ढोकाबाट आर्मी ब्यारेकमा छिरेर ज्यान जोगाए । तर उनीहरूका गाडी, च्याम्बर केही बचेनन् । सर्वोच्चमा ५३ वटा गाडी नै जले । न्यायाधीश सुनील पोखरेल, बालकृष्ण ढकाल, नहकुल सुवेदी र सारंगा सुवेदीको गाडी भने जोगिएको छ ।

अब्दुल अजिज मुसलमानको एउटा गाडी आन्दोलनकारीले तोडफोड गरेर सिसा फुटाएका थिए । त्यो बनाउन मात्रै ३० लाख लाग्छ ।

फैसला भएका मुद्दाको बेहाल

आगलागीले फैसला भइसकेका तर न्यायाधीशले हस्ताक्षर गर्न बाँकी मिसिल पनि जलेका छन् । २५ सयदेखि तीन हजारजति यस्ता मुद्दा होलान् । कैदीले सफाइ पाएर तिहारपछि छुट्नुपर्नेमा अन्योल सिर्जना भएको छ । सबैथोक जल्दा जिल्ला र पुनरावेदनकोमा आंशिक उल्टी पाँच वर्षलाई सात वर्ष भनेको हो कि, १० वर्षलाई पाँच भन्ठानेको हो भन्ने अन्योल छ ।

कतिलाई आफ्नो मुद्दा जल्यो भन्ने थाहा छैन । फैसला भयो भन्ने पनि थाहा छैन । अदालतमा पूरै भद्रगोल छ ।

होला मिसिल रिकभर ?

हजारौँ, लाखौँको संख्यामा जलेका मिसिलहरू कसरी रिकभर गर्न सकिन्छ भन्ने अर्को चुनौती छ । अहिले जिल्ला, उच्च र सर्वोच्चमा गरी ८–१० हजार मिसिल बाँकी जस्तो देखिएको छ । जिल्लामा मुद्दा भएकासहितको हकमा यति संख्या आकलन भएको हो । वादी–प्रतिवादीका वकिलबाट पनि संकलन गर्ने तयारीमा सर्वोच्च अदालत छ ।

सर्वोच्चको आगो निभाउन राजु पाण्डेले ‘हामीले पठाएकै हो दमकल’ भनेर दाबी गरेको झूट हो,’ स्रोतले भन्यो, ‘पहिलो दिन राति दमकल पठाएको भए धेरै जल्नबाट रोकिन सक्थ्यो । पर्सिपल्टसम्म आगो निभेन र यसैले प्रधानन्यायाधीशले ललितपुरको दमकल मगाउनुभएको हो ।’

टिप्पणीहरू