त्यसैले मेरो नाम नेपाल प्रहरी
स्थापना भा’को रैछ १२ सालतिर
अहिलेसम्म बनाइराछौं देशकै उच्च शीर,
ट्राफिक नियम सिकाउन स्कूल कलेज जान्छौं
प्रत्येक असोज मसान्तमा जन्मदिन मान्छौं,
चुनौती र जिम्मेवारी सधैं साथमा लिन्छौं
प्रहरी हौं काँधमा देशको विश्वास बोकी हिँड्छौं,
आवेगले होइन हामी विवेकले काम गछौं
तालुक अड्डा, कमाण्डरको आदेश भर पर्छाैं,
समाजमा न्याय दिने मूल बनिदिन्छौं
जनतासँग सहकार्यको पुल बनिदिन्छौं,
खाना खान्छौं, रोलकल मिल्छौं टाउका गनी गनी
बुद्धिले काम बढी गर्छौं बन्दुक बोकेपनि,
कहिले आँसु, कहिले रगत बगाएर पनि
गाउँ समाजमा अघि बढ्छौं शान्ति बाँड्न भनी,
आन्दोलन–निर्वाचन–बाढी पहिरोसम्म
अग्रपंक्ति प्रहरीकै उपस्थिति टम्म,
हिमालको चिसोदेखि गर्मी तराईको
कति खायौं रुखो वचन गाली पराइको,
तैपनि त हरेस खान्नौं बढ्छौं अघि सरी
त्यसैले त मेरो नाम हो नेपाल प्रहरी
त्यसैले त मेरो नाम हो नेपाल प्रहरी ।
७० औं प्रहरी दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनमा ‘प्रहरी परिवार’बीच हिजो आयोजित ‘पुनर्मिलन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा भरतपुर कारागार सुरक्षा गार्ड प्रमुख प्रहरी नायव निरीक्षक धर्मराज पौडेलको आफ्नै आवाजमा प्रस्तुत कविता हो यो ।
‘नागरिक प्रहरी सहकार्यले आपसी विश्वास, समझदारी र उत्तरदायित्वको भावना बलियो बनाउँछ । जब नागरिकले प्रहरीलाई डर होइन, भरोसाको प्रतीकका रुपमा हेर्छन् र प्रहरीले पनि नागरिकलाई सहकार्यकर्ताको रुपमा स्वीकार्छ, तबमात्र समाजमा अपराध घट्दै जान्छ र सुरक्षाको वातावरण स्थापित हुन्छ । नागरिक प्रहरी सहकार्यले कानुनको पालना र सामाजिक अनुशासन कायम गर्न सहयोग पु¥याउँछ ।’
प्रस्तुत हरफ कालिका–५ स्थित भीमोदय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा आराधना कुमारी गुप्ताले वाचन गरेको निबन्धबाट थोरै अंश उतारिएको हो । ७० औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले ‘नागरिक प्रहरी सहकार्य ः सुरक्षाको लागि अपरिहार्य’ विषयक निबन्ध लेखन प्रतियोगितासमेत विद्यालयस्तरमा आयोजना गरेको थियो । विजेता विद्यार्थीहरुलाई पनि एकसाथ पुरस्कार तथा सम्मान वितरण गरिएको कार्यक्रममा प्रथम हुने निबन्ध विद्यार्थीबाट वाचन समेत गराइएको थियो । (उक्त निबन्धको पूर्णपाठ नै हामी छुट्टै प्रस्तुत गर्नेछौं।)
चितवनमा सुरक्षाकर्मी तथा प्रहरी कर्मचारीहरुबीच ब्याडमिन्टन, भलिबल, डोरी तान्ने लगायतका विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरिएका थिए । ७० औं प्रहरी दिवसको अवसरमा आफैंपनि बागमती प्रदेश प्रहरी कार्यालयबाट ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’ प्राप्त गर्न सफल प्रहरी उपरीक्षक गोविन्द पुरीले जिल्ला प्रहरी कार्यालयका आफ्ना उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयमा असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी निरीक्षक दिपकप्रसाद रिजालले पाउन सफल भएका छन् । एकजना ८२ वर्षीय ज्येष्ठ पूर्वप्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमै केहीअघि ड्युटीको अवस्थामा अचानक मत्यु भएका एकजना प्रहरी कर्मचारीकी श्रीमतीलाई प्रहरी साथीभाइबाटै संकलन गरिएको ५१ हजार रुपैयाँ आर्थिक सहायतासमेत उपलब्ध गराइएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व प्रहरी संगठन चितवनका अध्यक्ष बलबहादुर थापा मगरले घाइते र अशक्त पूर्व प्रहरीहरुको साह्रै दयनीय स्थिति रहेको बताए । उनले भने, ‘शारीरिक र मानसिक रुपमा विक्षिप्त अवस्थामा छन् । राज्य र संगठनको तर्फबाट गरिने सहयोग, अन्य सेवा र प्रहरी हस्पिटलले गर्ने उपचार सुविधा त दिएकै छ । तर पनि काठमाडौं जान नसक्नेहरुलाई स्थानीय हस्पिटलमै निःशुल्क उपचारको व्यवस्था भएको खण्डमा सहज हुनेथियो ।’
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी डिल्लीनारायण पाण्डेय, इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास भट्ट लगायत जिल्लाका अन्य इन्चार्ज तथा प्रहरी कर्मचारीहरुको पनि आतिथ्यता रहेको थियो । प्रहरी निरीक्षक निलम तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
स्वागत मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले यस कार्यक्रमले सेवा निवृत्त, बहालवाला र अमर प्रहरी परिवार जनबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै प्रहरी दिवसको यो अवसरले प्रहरी कर्मचारीहरुलाई नागरिकसँग साक्षात्कार गर्दै नागरिकका भावना र समस्या बुझ्दै अपराध नियन्त्रणतर्फ थप बल मिलोस् भन्ने शुभकामना राखेका थिए ।
थुप्रै आरोह–अवरोह पार गर्दै नेपाल प्रहरी संगठन आजको अवस्थासम्म आइपुग्नुमा अग्रजहरुको समर्पण, योगदान र आहुति निकै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी प्रमुख गोबिन्द पुरीले खासमा प्रहरी कर्मचारीहरुको रिटायर्डसमेत नहुने धारणा राखे । संगठनको सुख–दुःखमा पूर्वप्रहरीको साथ र सहयोगले उर्जा मिल्दै आएको उनले बताए । ‘हामी बहालवालाई हौसला छ । पूर्वप्रहरी, अमर प्रहरी र हामी एकै परिवार हौं’, एसपी गोबिन्द पुरीले भने, ‘सहयोग र प्रेरणा दिइरहनुभएको छ, हामी साथमै छौं । तपाईंहरुलाई पनि हामी अप्ठेरो हुन दिँदैनौं ।’
चितवनमा जेनजी आन्दोलनका बेला ध्वस्त भएका प्रहरी कार्यालयहरु पनि अहिले पुनर्निर्माण सकेर अन्य कार्य पनि नियमित अघि बढिसकेको जनाउँदै प्रहरी प्रमुख भन्छन्, ‘इतिहासबाट पाठ सिक्दै, विगत सम्झिँदै, र वर्तमानलाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । एक कदम अगाडि बढेर हुन्छ कि एक कदम पछाडि हटेर– देश, जनता र संगठनको सुरक्षा हामीले गर्नुपर्छ ।
– अजय गोर्खाली



टिप्पणीहरू