समाजवादी आधुनिकीकरण पूरा गराइने, अनुशासनहीन नेताहरुलाई तह लगाइने
चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिकोे चौथो पूर्ण बैठक सम्पन्न भएको छ । १६८ जना स्थायी र १४७ जना वैकल्पिक सदस्य सहभागी बैठकले चीनले समाजवादी आधुनिकीकरणको लक्ष्य हासिल गरेरै छाड्ने प्रतिबद्धता जनाएको छ ।
पार्टी केन्द्रीय अनुगमन आयोगका प्रमुख र अन्य सम्बद्ध विभागका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको बैठकको अध्यक्षता पार्टी महासचिव सी जिनपिङले गर्नुभएको थियो । राजनीतिक ब्युरोको विगतको कामको समीक्षा प्रस्तुत गर्दै महसचिव तथा राष्ट्रपति सिले आगामी १५औं पाँचवर्षीय योजना (२०२६–२०३०) का लागि सिफारिस भएका बुँदाको सविस्तार व्याख्या गर्नुभएको बताइन्छ ।
बैठकले १४औं पाँचवर्षीय योजनाको अवधि (२०२१–२०२५) मा चीनले गरेको आर्थिक र सामाजिक उपलब्धिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेको छ । कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय जोखिम र आन्तरिक चुनौतीहरूको बाबजुद चीनले दिगो प्रगति हासिल गरेको निश्कर्ष छ ।

बैठकमा पार्टीले २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि राजनीतिक ब्युरोको उपलब्धिलाई पूर्ण रूपमा मान्यता दिएको छ । जसअन्तर्गत आर्थिक विकास, सामाजिक सुधार, राष्ट्रिय सुरक्षा, कानुनी शासन, सांस्कृतिक विकास, जनताको भलो र राष्ट्रिय एकता जस्ता विषयमा उल्लेखनीय प्रगति हासिल भएको ठहर छ ।
चीनले तय गरेको १५औं पाँचवर्षीय योजनाका प्रमुख उद्देश्यहरूमा उच्च गुणस्तरीय आर्थिक विकास, विज्ञान तथा प्रविधिमा आत्मनिर्भरता र क्षमता वृद्धि, सुधार र नवप्रवर्तनलाई थप गहिरो बनाउने, सांस्कृतिक र सामाजिक मूल्यहरूमा प्रगतिशीलतामा जोड, जनताको जीवनस्तरमा थप सुधार, ‘सुन्दर चीन’ पहललाई दृढताकासाथ अगाडि बढाउने र राष्ट्रिय सुरक्षा तथा सामाजिक स्थिरता सुनिश्चित गर्ने उल्लेख छ ।

बैठकमा विज्ञान, प्रविधि, शिक्षा, मानव संसाधन, घरेलु बजार, औद्योगिकीकरण, हरित विकास, राष्ट्रिय सुरक्षा, सैनिक आधुनिकीकरण, र राष्ट्रिय पुनर्जागरणका लागि रणनीतिक योजना प्रस्तुत गरिएको जानकारी दिइएको छ । हिजो सम्पन्न बैठकले समग्र रूपमा पार्टीको पूर्ण नेतृत्व, समाजवादी लोकतन्त्र र कानूनी शासन, उच्च गुणस्तरीय विकास, सामान्य समृद्धि, र चीनको आधुनिकीकरणतर्फको प्रगतिको लागि सबै क्षेत्रको समन्वय आवश्यक हुनेमा जोड दिएको छ ।
बैठकको निर्णयअनुसार, पार्टीले आफूभित्र सुधार र स्वःअनुशासनलाई अझ बलियो बनाउँदै सामाजिक सुधार र राष्ट्रिय पुनर्जागरणको मार्गमा अगाडि बढ्ने छ ।

बैठकले केन्द्रीय सैन्य आयोगको उपाध्यक्षमा झाङ शेंग्मिनलाई नियुक्त गरिएको छ। केन्द्रीय समितिका खाली स्थान वैकल्पिक सदस्यहरू मार्फत् पूर्ति गरिने निर्णय पनि भएको छ । बैठकले पार्टी अनुशासन उल्लंघन गरेका उच्च पदस्थ अधिकारीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन समेत गरेको छ ।
बैठकले चिनियाँ कम्युनिष्ट पार्टी, सेना र चीनका सबै जातीय समूहका नागरिकलाई महासचिव सी जिनपिङको नेतृत्वमा केन्द्रित भई समाजवादी आधुनिकीकरणको लक्ष्य प्राप्त गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।
टिप्पणीहरू