सबैजना मीनबहादुर र चन्द्र ढकाल हुन सक्दैनन्

सबैजना मीनबहादुर र चन्द्र ढकाल हुन सक्दैनन्

भदौ २४ गतेको जेन जी विध्वंशपछि राजनीतिक अन्यौलसँगै आर्थिक सुस्तता पनि गहिरिँदै गएको छ । भाटभटेनी डिपार्टमेण्टल स्टोरका झण्डै दुई दर्जन भवनमा गरिएको आगजनी र लुटपाटका कारण जेन जी उमेरका कर्मशील युवाहरू बेरोजगार बनेका छन् । 

भलै मीनबहादुर गुरुङले उनीहरूलाई तलब,भत्ता र सुविधा दिँदै छिट्टै निर्माण हुने नयाँ स्टोरमार्फत व्यवसाय पुनःसुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।

उता,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालको लगानीमा सञ्चालित काठमाडौंको चन्द्रागिरी र गैंडाकोटको मौलाकालिका केबलकारमा लगाइएको आगोले करोडौंको क्षति पुर्याएको छ। ढकालले पनि केबलकार सेवा पूर्ववत छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् ।

यी दुईबाहेक अन्य दर्जनौं व्यवसायीको निवास,कारखाना र कार्यालय पनि तोडफोड र आगजनीले ध्वस्त पारिएका छन् । अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा नराम्रो आघात परेको छ। अन्तर्राष्ट्रिय चेन होटल हिल्टन, हायातसँगै पोखराका धेरै होटल तथा रिसोर्ट खरानी बनेका कारण पर्यटक आगमनमा ह्वात्तै गिरावट आएको छ।

यसबीच,काठमाडौंको हायात रिजेन्सी होटलले सयौं मजदुरलाई अनुपस्थित हुन सूचना जारी गरेपछि सरकारले वार्ताको तयारी गरेको छ । भोलि आइतबार पर्यटन व्यवसायी र होटल सञ्चालकसँग वार्ता गरेर होटलहरू सुचारु गराउन आग्रह गरिने बुझिएको छ । तर विदेशी लगानीकर्ताहरूले बिनाकारण भएको लुटपाट र आगजनीको परिप्रेक्ष्यमा सेवा पुनःसुचारु गर्न असुरक्षित ठानेका छन् । यसले प्रत्यक्ष वैदेशिक लगानीमाथि नै कालो बादल मडारिएको छ ।

मीनबहादुर र चन्द्रले यही भूमिमा जन्मेकाले यहीँ मर्ने संकल्प गरेका छन् । त्यसैले उनीहरू जीवनको अन्तिम क्षणसम्म व्यवसायमा टिकिरहनेमा शंका छैन । तर नाफा खोज्दै आएका विदेशी आफ्ना लगानीबाहेक अरु विषयमा त्यति भावनात्मक हुँदैनन् । असुरक्षित वातावरणमा जोखिम मोल्दै उनीहरुबाट यहाँका युवालाई रोजगारी दिने आशा गर्नु जिम्मेवार अधिकारीहरुको सामान्य बुझाइ मात्र हुन सक्छ।

ह्यातले तोडफोड र आगजनीका कारण संरचनागत क्षति देखाउँदै होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य तत्काल थाल्नुपर्ने जनाउँदै बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण कर्मचारी र श्रमिकहरूलाई होटल परिसरमा उपस्थित नहुनसमेत अनुरोध गरिएको छ ।

यता प्रधानमन्त्री सुशीला कार्कीले होटल ह्यात रिजेन्सी सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान होटल व्यवस्थापनसँग कुराकानी गरेको बुझिएको छ । 

मन्त्री खनालले होटल सञ्चालनको लागि आग्रह गरे पनि व्यवस्थापन जेन जी विध्वंशपछि देखिएको राजनीतिक अनिश्चितता र अन्यौल,सुरक्षा चुनौतीबीच सेवा बन्दको सोचमा पुगेको स्रोतको दावी छ । यो रोग अब बिस्तारै ठूला होटल,उद्योग,कलकारखानामा सरेको अवस्थामा बेरोजगारीको अवस्था थप भयावह हुने निश्चित छ ।

टिप्पणीहरू