हायात बन्दको निर्णय तत्काल फिर्ता लिन माग

हायात बन्दको निर्णय तत्काल फिर्ता लिन माग

राजधानीको पाँचतारे हायात होटल बन्दविरुद्ध कर्मचारीहरु एकजुट भएका छन् । सामान्य क्षति हुँदैमा होटल बन्द गर्ने निर्णयले श्रमिकलाई बेरोजगारसँगै मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने भन्दै उनीहरुले तुरुन्त सो निर्णय फिर्ता लिन माग गरेका हुन् । 

नेपाल होटल,क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघ,अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन,होटल,क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुसँग छलफल नै नगरी होटल बन्द गरिएकोप्रति आपत्ति जनाएका छन् । 

जेनजी विध्वंशकै क्रममा पूर्ण रुपमा क्षतिग्रस्त हिल्टन होटल र भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारीलाई ननिकाली संरक्षण गरिरहँदा अन्तर्राष्ट्रिय छवि बोकेको हायात होटेलले यस्तो निर्णय गर्नु दुःखद् भएको ट्रेड युनियनहरुको ठहर छ । 

‘यस प्रकारको कदमले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने,लगानी सुरक्षामाथि प्रश्न उठाउने,वैदेशिक तथा बहुराष्ट्रिय लगानीकर्ताको विश्वास कमजोर पार्ने,श्रमिकहरुलाई बेरोजगार बनाउने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेसमेत देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

होटल प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिई होटल सञ्चालनमा ल्याउन र सबै श्रमिकको रोजगारी सुनिश्चितताको माग गर्दै युनियनले होटलमा क्षति पुर्याउनेमाथि आवश्यक कारबाहीको अनुरोध गरेका छन् ।

टिप्पणीहरू