जेनजीका नाममा "आन्दोलन" गर्ने सिक्किमका राई छुटे
गत शनिबार राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्ने क्रममा पक्राउ परेका भीमबहादुर राई छुटेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका उनलाई हिजो रिहा गरिएको हो । माइतीघर मण्डलामा आन्दोलन गर्ने क्रममा अस्ति प्रहरीले ७६ जनालाई नियन्त्रणमा लिएको थियो ।
७५ जना त्यसैदिन छुटेकोमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ स्थायी ठेगाना बताउने राईले कुनै कागजात बुझाउन नसकेपछि प्रहरीले उनलाई हिरासतमै राखेको थियोे । प्राप्त जानकारीअनुसार राई सिक्किमका हुन् । उनका बुवा रामसिंह राईले उतैको सिंग्ताम बजारमा खसी–बोकाको व्यापार गर्थें ।
दक्षिण सिक्किमको ११ माइल संघनाथ बस्तीमा जन्मेर त्यहीँ हुर्किएका भीमबहादुरले तीनकिताम स्कूलमा अध्ययन गरेका हुन् । २५ वर्षअघि उताको सम्पत्ति बेचेर यता आएका उनी हाल सीतापाईलामा बस्छन् । रोचक प्रसंग के भने, उनले प्रहरीलाई आफ्नो स्थायी बसोबास मानेभञ्ज्याङ गाउँपालिका–५ बताए पनि त्यहाँ उनको कुनै रेकर्ड नै छैन ।
वडा नम्बर–५ को कार्यालयले उनको कुनै रेकर्ड नभएको पुष्टि गरेको छ । जसबाट उनले प्रहरीलाई गलत ठेगाना बताएको स्पष्ट हुन्छ । उनीसँग दोहोरो नागरिकता हुनसक्ने स्रोतको अनुमान छ । स्रोत भन्छ,‘उनीहरु २५ वर्षअघि मात्र उताको सम्पत्ति बेचेर नेपाल आएका हुन् । उताको सम्पत्ति बेच्दा प्रमाणपत्र त चाहिन्छ नै । उनीसँग दुईटै मुलुकको नागरिकता हुनुपर्छ ।’
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले उनी छुटिसकेको बताए । जनआस्थासँग भने,‘उनलाई छोडिएको छ ।’ उनलाई प्रमाणपत्र नभई लठ्ठीजस्तो देखिने सामानका कारण प्रहरी हिरासतमा राखिएको एसपी भट्टराईको जिकिर छ । भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा भारतीय र तिब्बतीको संलग्नता रहेको एकपछि अर्को तथ्य बाहिरिरहँदा त्यसपछि भइरहेका आन्दोलनमा पनि उनीहरुको सक्रिय सहभागिता छ ।
नेपाली मूलका भारतीय जेनजीहरुले प्रदर्शनको नाममा नेपालमा उपद्रव मच्चाइरहेका छन् । शनिबारको आन्दोलनमा अग्र स्थानमा रहेका सिक्किमका सुरेन्द्रकुमार राई प्रहरी आएपछि फरार भएका थिए । पश्चिम सिक्किमको मार्ताम निवासी राई ‘सेमिङ गुरु भारत’ को नामले चिनिन्छन् ।
नेपाली मूलका भारतीय जेनजीको बन्दोबस्त गर्दै आएका उनी प्रहरी देख्नेबित्तिकै भागेकोमा पक्राउ परेका छैनन् ।
टिप्पणीहरू