घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य

घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य

अबदेखि तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै तीन करोड बढीको घरजग्गा कारोबारका निम्ति लाइसेन्स लिन दरखास्त आह्वान गरेको हो । 

विभागका अनुसार इच्छुक फर्म, कम्पनी वा संस्थाले आगामी ३० दिनभित्र अनलाइन आवेदन पेश गर्न सक्नेछन् । सूचनामा भनिएको छ, ‘नेपाल सरकारबाट मिति २०८२–०६–२७ मा प्रकाशित नेपाल राजपत्रको सूचना नं.२ अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको हुँदा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थाले आवश्यक कागजात संलग्न गरी ३० दिनभित्र अनलाइन निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ ।’

मालपोत नियमावली, २०३६ (आठौं संशोधन, २०८२) को अनुसूची ८ मा उल्लिखित कागजात एवम् प्रमाण स्क्यान गरेर सोही अनुसूचीबमोजिमको ढाँचामा निवेदन दिनुपर्ने विभागले जनाएको छ । त्यस्तै, एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा पाँच लाख रुपैयाँ र एक पटकमा पाँच करोडभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्नेको हकमा दश लाख रुपैयाँ लाइसेन्स शुल्क तोकिएको छ । थप जानकारी विभागबाट प्राप्त गर्न सकिनेछ ।
 

टिप्पणीहरू