विवादपछि मन्त्री हुन नपाएका खर्गेन्द्रको अदालतमा बयान
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भई विवादमा तानिएपछि शपथ खान नपाएका दलित अभियन्ता खगेन्द्र सुनार बयानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका छन् ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान शुरु भएको छ । आजै थुनछेक बहस हुने अदालतका सूचना अधिकारी शाखा अधिकृत अक्षयकुमार दनुवारले बताए ।
जनआस्थासँग उनले भने,‘उहाँको बयान भइरहेको छ । बयान सकिएपछि आज थुनछेक बहस हुन्छ । उहाँ धरौटीमा छुट्नुहुन्छ कि थुनामा जानुहुन्छ, आजै थाहा होला ।’
दैलेखको नारायण नगरपालिका–३ का सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले गत साउन २ गते ‘विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतका’ मुद्दा दायर गरेकी थिइन् । सुनारले सामाजिक सञ्जालमा अपशब्दको प्रयोग गर्दै गौतमको चरित्रहत्या गरेका थिए ।
सुशीला कार्की नेतृत्वको सरकारमा श्रममन्त्रीको शपथ खान ठिक्क परेका उनको मुद्दाको विषय बाहिर आएपछि नाम काटिएको हो । काभ्रेपलाञ्चोकमा मुद्दा खेपिरहेका उनीविरुद्ध सुर्खेत जिल्ला अदालतले अघिल्लो वर्ष पक्राउ पुर्जी जारी गरेको थियो ।
सुनारले गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटामाथि हातपात गरेका थिए । अदालतमा असार १४ गते मुद्धा दायर भएकोमा असार २१ गते सात दिने पक्राउ पुर्जी जारी भएको हो ।
त्यस्तै, उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन छ । दलितको हकहितका लागि आवाज उठाउने भन्दै दलितहरुकै पैसा खाएर भागेको आरोप पनि उनीमाथि छ ।
टिप्पणीहरू