सिडिओ कार्यालयको सूचना: अत्यावश्यक काम नपरी बाहिर ननिस्कनू

सिडिओ कार्यालयको सूचना: अत्यावश्यक काम नपरी बाहिर ननिस्कनू

निरन्तरको वर्षा नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । 

सिडिओ कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सचेत गराइएको छ । 

डुबान हुनसक्ने बस्तीका बासिन्दालाई उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिन, नदी किनारका बासिन्दालाई सतर्क रहन वा जोखिम देखिए तत्कालै सुरक्षित स्थान सर्न भनिएको छ । त्यस्तै, धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्कालै भित्र्याउन, सुरक्षा दृष्टिकोणले आवागमन बन्द गरिएका स्थानमा नजान पनि सिडिओ कार्यालयको अनुरोध छ । 

कार्यालयले जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुनेगरी डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न, विपद् प्रतिकार्यका निम्ति तीन वटै सुरक्षा निकाय तयार रहन र साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रहिरहनसमेत निर्देश गरेको छ ।
 

टिप्पणीहरू