धरौटीमा छुटेपछि सरकारको प्रवक्ता दाबी

धरौटीमा छुटेपछि सरकारको प्रवक्ता दाबी

धरौटीमा छुटेका दलित अभियन्ता खगेन्द्र सुनारले आफूलाई सरकारको प्रवक्ता दाबी गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ। विभिन्न विवादमा मुछिएपछि अन्तिम समयमा मन्त्रीको सूचीबाट नाम काटिएका सुनारले अदालतबाट निस्केपछि आफूलाई प्रवक्ता दाबी गरेका हुन् ।

कानुनअनुसार सरकारको प्रवक्ता सूचना तथा सञ्चारमन्त्री हुन्छन्। ‘प्रवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धी निर्देशिका, २०६३’ को दफा ३ को उपदफा १ मा भनिएको छ, “सूचना तथा सञ्चारमन्त्री वा राज्यमन्त्री नेपाल सरकार (मन्त्रिपरिषद्) को प्रवक्ता हुनेछ।”

सामाजिक सञ्जालमार्फत महिला अधिवक्ताको चरित्रहत्या गरेको मुद्दामा ५० हजार रुपैयाँ धरौटीमा छुटेका सुनारले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट हिजो निस्किँदै भनेका थिए, “यो फागुन २१ गते चुनाव हुन्छ। सरकारमा नभए पनि म सरकारको प्रवक्ता हुँ। सुशीला आमाको प्रवक्ता हुँ।”

लगत्तै हरि बजगाईँले लेखेका छन्, “अपराधी छु भनेर कसले भन्छ र?” गणेशप्रसाद तिमल्सिनाले भनेका छन्, “सुशीला आमाको प्रवक्ता पो हुनुहुँदोरहेछ।”

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको अभियोगमा सुर्खेत जिल्ला अदालतले गत वर्ष उनलाई पक्राउ पुर्जी जारी गरेको थियो। यता, सर्वोच्च अदालतमा पनि उनको मुद्दा विचाराधीन छ। दलितको हकहितमा आवाज उठाउने नाममा दलितहरुलाई नै ठगी गरेको आरोप पनि खेप्दै आएका छन् ।
 

टिप्पणीहरू