उद्योगपतिको घरमा डोजर पूर्ण रुपमा नचलाउन महानगरकै आदेश

उद्योगपतिको घरमा डोजर पूर्ण रुपमा नचलाउन महानगरकै आदेश

पुराना उद्योगपति पियुषबहादुर अमात्यको घरको पर्खाल नभत्काउन काठमाडौं महानगरपालिका स्वयम्ले आफ्नो प्रहरी बललाई आदेश दिएको छ । कानुन विभागको पत्र प्राप्त नभएसम्म घर भत्काउने कार्य पूर्ण रुपमा रोक्ने निर्णय गरिएको व्यहोरा अवगत गराइएको छ ।

अमात्यले अदालतको आदेशसँगै ‘आफ्नो घरको पर्खाल भत्काउने कार्य अविलम्ब रोक्न’ माग गर्दै हिजो महानगरमा निवेदन दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको तोक आदेशपछि उनीहरुले सो निवेदन महानगरीय प्रहरी बलमा दर्ता गराएका हुन् ।

नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले कानुन विभागको पत्र नआउँदासम्म भत्काउने कार्य पूर्ण रुपमा रोक्न बलको बानेश्वर प्रमुखलाई निर्देशन दिएका हुन् । दर्ता नम्बर १२७ भएको पत्रमा पाण्डेले लेखेका छन्,‘कानुन विभागबाट फैसला कार्यान्वयनको पत्र प्राप्त नहुञ्जेल भत्काउने कार्य पूर्ण रुपमा रोक्का राख्ने ।’

यता, उच्च अदालत, पाटनले पनि उनको घरमा डोजर नचलाउन आदेश दिएको छ । वडा नम्बर–१०, नयाँ बानेश्वरको मदन भण्डारी पथस्थित अमात्यको घर तिहार बिदाको मौका छोपेर भत्काइएको थियो । ४२ वर्षअघि वि.सं.२०४० सालमा बनाइएको घर भिरालो जग्गामा रहेकाले  सुरक्षाको निम्ति छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा किनेर पर्खाल निर्माण गरेको बताइन्छ ।

तर, लालपुर्जा बनिसकेपछि जग्गाधनीले उक्त जग्गा बिक्री गरिदिए । अहिले आएर इन्टरनेशनल स्कूल अफ म्यानेज्मेण्टले सो जग्गाको स्वामित्व आफूसँग रहेको दावी गरेको छ । कलेजले न्यायिक समितिमा जग्गाको मुद्दा दायर गरेकोमा मेयर बालेन साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश दियो । सो आदेशविरुद्ध अमात्य परिवारले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेको हो । 

अदालतमा मुद्दा चलिरहँदा कलेजले आफ्नै लेटरप्याडमा पत्र लेखेर अमात्यको घरमा मनलाग्दी डोजर चलाएको थियो । जसका कारण उनको पूरै घर कम्पाउण्ड जोखिममा परेको छ । डोजर आतंकविरुद्ध अमात्यले निषेधाज्ञाको आदेश माग गर्दै कात्तिक ९ गते उच्चमा मुद्दा दायर गरे । कात्तिक १२ गते पहिलोपटक पेशी चढेकोमा न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले कारण देखाउसहित दोहोरो छलफलमा झिकाउने आदेश जारी गरेको छ । 

यही कात्तिक १९ गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको छ ।

टिप्पणीहरू