कपिलवस्तुमा ३५० बोरा अनुदानको मल बरामद

कपिलवस्तुमा ३५० बोरा अनुदानको मल बरामद

अनुदानको मल गोदाममा लुकाएर कालोबजारी भएको गुनासो बढेपछि कपिलवस्तुमा सुरक्षा निकायले व्यापारीको घरमा छापा मारिएको छ । गहुँ छर्ने सिजन नजिकिँदै गर्दा कृषि सहकारी र व्यापारी मिलेर अनुदानको मलको अवैध कारोबार गरेको उजुरीपछि सुरक्षा निकायले दुई दिनभित्र ३५० बोरा डिएपी रासायनिक मल बरामद गरिएको छ ।

हिजो सशस्त्र प्रहरी बलको २८ नम्बर गण र आज पिपरा प्रहरीले पाँच फरक स्थानमा छापा मारेका हुन् । पिपरा प्रहरीले बाणगंगा नगरपालिका–१०, मेचकुरीमा गरेको छापामा स्थानीय किसानको सूचनाका आधारमा प्रहरी निरीक्षक अर्जुन पौडेलको टोलीले चारवटा घरका गोदामबाट २२६ बोरा डिएपी मल बरामद गरेको छ ।

प्रहरीले बरामद सबै मल व्यापारी सुलेमान मुसलमानको भएको जनाएको छ । स्थानीय शान्तराम थारुको घरबाट १५८ बोरा, दशरथ शाहीको घरबाट २१ बोरा, शिला शान्तिको घरबाट ३३ बोरा र सुलेमान मुसलमानकै घरबाट १४ बोरा गरी २२६ बोरा मल बरामद गरिएको छ । स्रोतका अनुसार मुसलमानले मायादेवी गाउँपालिकास्थित दुईवटा सहकारीबाट उक्त मल खरिद गरेका थिए।

यस्तै, हिजो बेलुकी स्थानीय किसानको सूचनापछि कपिलवस्तु सशस्त्र प्रहरीले शुद्धोधन गाउँपालिकाका एक व्यापारीको घरमा छापा मारेको थियो। सो क्रममा अवैध रूपमा घरमा लुकाइराखिएको १२४ बोरा अनुदानको डिएपी मल बरामद गरिएको हो।

सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीको निर्देशनमा शुद्धोधन–१, अनहराटस्थित फुलचन्द्र यादवको घरमा लुकाइएको मल बरामद गरिएको थियो। बरामद गरिएको मल राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

स्रोतका अनुसार व्यापारी यादवले स्याङ्जा, वालिङस्थित दुईवटा सहकारीबाट मल ल्याएका थिए। उनले प्रति बोरा ३५ सयदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको जानकारी प्राप्त भएको छ।

गहुँ छर्ने सिजनसँगै अनुदानका रूपमा आएको डिएपी मल कृषि सहकारी र एग्रोभेट व्यापारीहरूले कालोबजारी गरी महँगो मूल्यमा बिक्री गर्दै आएको स्थानीय किसानहरूको आरोप छ। जिल्लामा पटक–पटक यस्ता घटना दोहोरिए पनि नियन्त्रणमा लिन प्रशासन असफल देखिएको छ।

टिप्पणीहरू