पहिरोको जोखिम बढेपछि यात्रा नगर्न अनुरोध
नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलासहित पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु खण्डका विभिन्न स्थानहरुमा लगातार पहिरो गइरहेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क गराएको छ ।
उक्त सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सकभर आज यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनको आग्रह छ । आज अपरान्ह आकस्मिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘वर्षा नरोकिई पहिरोको जोखिम बढेको खण्डमा उक्त सडकमा सवारी आवागमन रोक्नुपर्ने परिस्थिति सिर्जना हुनेतर्फ समेत ध्यानाकर्षणसहित थप सावधानी एवम् सतर्कताका लागि सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।’

यात्रा गर्नुपूर्व जानकारी लिनको लागि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (९८५५०१३९९९) र जिल्ला ट्राफिक प्रहरी प्रमुख (९८५५०१७०९९) मा सम्पर्क गर्न सूचित गरिएको छ ।
हाल उक्त सडक खण्डमा पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको भए पनि वर्षा नरोकिएको खण्डमा जोखिम थप बढ्न सक्ने देखिन्छ ।
टिप्पणीहरू