लेखा समूहलाई सिए भत्ता ,कसले गर्ला कट्टा ?
नेपाल वायुसेवा निगमले लेखा समूहमा नियुक्त कर्मचारीलाई प्रदान गरिएको चार्टर्ड एकाउण्टेण्ट (सिए) भत्तामाथि छानबिन गर्न आलटाल गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनपटक ताकेता गरे पनि निगमले कुनै जवाफ नपठाएको बताइन्छ ।
‘नेपाल वायुसेवा निगमको कर्मचारीका सेवासुविधासम्बन्धी नियमावली, २०५८’ ले प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूह र लेखा समूह गरी कर्मचारीलाई दुई समूहमा विभाजित गरेको छ । निगममा लेखा समूहअन्तर्गत चौथोदेखि नवौं तहसम्म ६२ जना कर्मचारी कार्यरत देखिन्छन् ।
नवौं तहका उमेश पौडेल, दिपेन्द्र सुवेदी र अनिशा खड्का लेखा समूहमा नियुक्त कर्मचारी हुँदाहुँदै निगमले उनीहरुलाई शतप्रतिशत चार्टर्ड एकाउण्टेण्टको भत्ता उपलब्ध गराउँदै आएको सम्बन्धमा तालुक मन्त्रालयले सोधखोज गरेको हो । विभागीय प्रमुखले प्राप्त गर्ने सबै किसिमका सेवासुविधा लिइरहेका उनीहरुविरुद्ध २०७९ चैत १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषय अहिले बाहिर आएको छ।
‘नेपाल वायुसेवा निगम आर्थिक नियमावली, २०६५’ विपरीत वार्षिक लाखौं रुपैयाँको दोहोरो सुविधा लिएको आरोप लगाउँदै उजुरी परेकोमा अख्तियारले ‘राय–प्रतिक्रिया उपलब्ध गराउन’ मन्त्रालयलाई पत्राचार गरेको देखिन्छ । एउटै समूहमा रहेका कर्मचारीहरुमध्ये कसैलाई भत्ता उपलब्ध गराउनु र कसैलाई नगराउनु नीतिगत भ्रष्टाचार हुने ठहर गर्दै अख्तियारले १५ दिनभित्र राय माग गरेको हो ।
‘एउटै सेवा समूहमा रहेका लेखा समूहका कर्मचारीहरुका लागि लेखा भत्ता प्रदान नगर्नु तर चार्टर्ड एकाउण्टेण्टलाई सिए भत्ता शतप्रतिशत प्रदान गर्ने निगमको बोर्डको निर्णय पनि नीतिगत भ्रष्टाचारको रुपमा रहेको’, व्यहोरा पत्रमा उल्लेख छ । अख्तियारका अनुसार मन्त्रालयले चैत २७ गते निगमलाई छानबिन गरेर प्रमाणहरु उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, निगमबाट कुनै जवाफ नआएपछि मन्त्रालयले पुनः २०८० जेठ २३ गते अर्को पत्र पठाएको देखिन्छ ।
त्यतिबेलै सात दिनभित्र जवाफ पेश गर्न भनिएकोमा निगमले बेवास्ता गरेपछि तेस्रोपटक २०८१ जेठ १८ गते पत्राचार गरिएको थियो । तर, निगमले अहिलेसम्म उक्त पत्रको पनि कुनै जवाफ पठाएको देखिँदैन ।



टिप्पणीहरू