कहाँ हरायो सिराजुल उलुमको १ सय २० बिगाहा जग्गा ?

कहाँ हरायो सिराजुल उलुमको १ सय २० बिगाहा जग्गा ?

करिब ११७ वर्ष पुरानो, मुलुककै जेठो मदरसा जामिया सिराजुल उलुमका भ्रष्टाचारका श्रृंखला एकपछि अर्को बाहिर आउन थालेको छ । बाहिरी आवरणमा भौतिक सम्पत्तिले धनाढ्य देखिने उक्त मदरसा भित्रभित्रै आर्थिक संकटमा फसेको बताइन्छ ।

मदरसाले दाताहरूबाट दानमा पाएका जग्गाहरू सञ्चालकहरूले आफ्नै नाममा दर्ता गराउने र मदरसाको नाममा रहेका राम्रा जग्गाहरू समेत दलालहरूसँग मिलेर सट्टापट्टा गर्ने क्रमले यसको आयश्रोत घट्दै गएको छ । मदरसालाई दीर्घकालीन आयश्रोतमा निर्भर बनाउन तत्कालीन जमिनदार र स्थानीय बासिन्दाले करिब १२८ बिगाहा जग्गा दान गरेका थिए। त्यसमा वर्तमान सञ्चालक समिति अध्यक्ष समिम अहमद खाँ, उनका बाबु अब्दुल रहिम खाँलगायत दर्जनौँ जमिनदारले मदरसाका नाममा जग्गा दिएका थिए।

त्यही जग्गामा अहिले छ वटा व्यवसायिक कम्प्लेक्स, फलफूलका बगैँचा, माछापोखरी तथा खेतहरू छन् । सोही जग्गामा कृष्णनगरस्थित सिराजुल उलुम अल–सफिया, मदरसा जैद बिन साबित, आयशा सिद्दिका गल्र्स कलेज, र शिवराजस्थित मदरसा उस्मान बिन अफ्फान, जियाउल उलुम मदरसा तथा फातिमा अल जोहरा गल्र्स कलेज सञ्चालनमा छन्।

तर, मालपोत कार्यालयको अभिलेख अनुसार मदरसा सिराजुल उलुमका नाममा जम्मा २७ कित्ता मिलाएर ८ बिगाहा ६ कट्ठा मात्र जग्गा दर्ता भएको पाइएको छ। चन्द्रौटा मालपोत कार्यालय प्रमुख ऋषिराम पौडेलका अनुसार, ‘मदरसाको नाममा ८ बिगाहा ६ कट्ठा मात्र दर्ता छ, यसबारे थप विवरण छैन,’ उनले भने।

मदरसा स्रोतका अनुसार, दान भएका जग्गा १२८ बिगाहा पक्कै थिए। कतिपय जग्गाको दर्ता श्रेस्ता कायम गरिएको थियो भने कतिपयको दान घोषणा गरेर पनि दर्ता नगरी छोडिएको थियो। ‘पहिला जग्गा सस्तो थियो, पछि लोभ पलाएर फेरी कब्जा गरेको हुनसक्छ’ स्रोतले भन्यो।

अहिले पनि मदरसाकै जग्गा विभिन्न व्यक्तिले भाडामा लिएर भोगचलन गरिरहेका छन्। कृष्णनगरको चैपुरवा, सिर्सिहवा, लक्ष्मीनगर, शिवराज–१० इस्लामनगर, चैनपुर, कुदरबेटवा र सोनपुर क्षेत्रमा मदरसाका जग्गा छन् । मदरसाको जग्गा व्यक्तिको नाममा मात्र होइन, कमसल जग्गासँग महँगो जग्गा सट्टापट्टासमेत गरिएको छ।

सञ्चालक समिति अध्यक्ष समिम अहमद खाँले २०६८÷६÷२३ मा मंजुर खाँ र मन्नान खाँसँग ९ कट्ठा १७ धुर जग्गा सट्टापट्टा गरेका थिए। त्यसपछि उनले जग्गा व्यापारी माधव केसी समूहसँग मिलेर २०६८÷१०÷२५ मा चन्द्रौटा क्षेत्रमा करिब ३१ कट्ठा जग्गा साटेको देखिन्छ ।

२०७५ असार २४ गते मदरसा सञ्चालकहरूले इनायत मुसलमान, फहिम शाह र नूरजहाँसँग कमसल जग्गा लिएर महँगो जग्गा साटेको मालपोत श्रेस्ताबाट प्रमाणित हुन्छ । मदरसाको नाममा रहेका भौतिक सम्पत्ति बेचबिखन गर्न नमिल्ने भएकाले सञ्चालकहरूले सट्टापट्टाको बाटो रोज्ने गरेको स्रोतको भनाइ छ।

मालपोत कार्यालयले मदरसाको नाममा ८ बिगाहा मात्र जग्गा देखाएपछि बाँकी १२० बिगाहा जग्गा कहाँ गयो भन्ने विषयमा छानबिन हुनुपर्ने मुस्लिम अगुवाहरूको माग छ। उनीहरूले मदरसाका नाममा दान गरिएका जग्गा अझै पनि केही व्यक्तिको नाममा रहेको र त्यसको दुरुपयोग भइरहेको शंका व्यक्त गरेका छन्।

टिप्पणीहरू