तुलसी–दामोदरको विवाह गरेर हरिबोधिनी एकादशी पर्व मनाइँदै
हिन्दू धर्मावलम्बीहरुले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी र दामोदरको विवाह गराएर हरिबोधिनी एकादशी पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
चार महिनाअघि हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज पुनः जाग्रत हुने धार्मिक विश्वास छ । चतुर्मासभर विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने र आजदेखि पुनः शुभ कार्य प्रारम्भ गर्ने धार्मिक परम्परा छ ।
आज हरिशयनी एकादशीको दिन तुलसी रोपिएको मठलाई रातो माटोले पोतेर फूलमालाले सजाई तुलसी र दामोदर (विष्णु)को विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले आदिकालदेखि तुलसी–दामोदर विवाहको परम्परा रहिआएको हो ।
हिन्दू धर्ममा तुलसीको मठ भएको घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले वातावरण पवित्र बनाउने, रोग नष्ट गर्ने र सर्पजस्ता विषालु जीवलाई टाढा राख्ने विश्वास छ । तुलसीको पात, डाँठ र फूल औषधीय दृष्टिमा पनि उपयोगी हुन्छ ।
आज मुलुकभरका नारायण मन्दिरहरूमा र विशेषगरी काठमाडौंको बूढानीलकण्ठ, इचङ्गुनारायण र शेषनारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायणमा विशेष मेला लागेको छ ।
टिप्पणीहरू