एनसेलको फोरजी दौड तीव्र, १० दिनमा २० टावर
देशभर फोरजी सञ्जाल विस्तारलाई तीव्रता दिँदै निजि क्षेत्रको दूरसञ्चार संस्था एनसेलले पछिल्लो १० दिनमा २० वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।
एनसेलका अनुसार मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा टावर विस्तार गर्दै गुणस्तरीय भ्वाइस र तीव्र गतिको डेटा सेवा सुदृढ गरिएको हो । लामो समयदेखि रोकिएको सहजीकरण प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएपछि चाडपर्वकै समयमा पनि काम अघि बढाएको उसले जनाएको छ ।
मधेस प्रदेशका बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायण गरी १३ नयाँ टावर सञ्चालनमा आएका छन् ।
त्यस्तै, कोशी प्रदेशमा सुनसरीका इनरुवा, बर्जु, हरिनगर र गढीमा चार, मोरङका ववियाविर्ता र मजारेमा दुई गरी ६ तथा बागमतीको मकवानपुरस्थित हेटौँडामा एउटा टावर जडान गरिएको छ । यी टावर सञ्चालनमा आएपछि ती क्षेत्रका उपभोक्ताले अझ भरपर्दो फोरजी सेवा प्राप्त गर्ने विश्वास एनसेलले लिएको छ ।
'नेपालको डिजिटल कनेक्टिभिटीलाई अझ मजबुत बनाउन फोरजी सञ्जाल विस्तार हाम्रो प्राथमिकता हो', एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, 'मात्र १० दिनमा २० नयाँ टावर सञ्चालन गरी उच्चगतिको मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवा सुनिश्चित गरेका छौं। अब दुई दिनभित्र थप १० टावर सञ्चालन गर्ने तयारीमा छौं ।'
उपकरण आयातमा रोक लाग्दा पनि एनसेलले पुराना सामग्री पुनःप्रयोग गर्दै देशभर ४० भन्दा बढी नयाँ टावर जडान गरेको थियो । अबको दुई महिनाभित्र सबै प्रदेश समेट्ने गरी १७० भन्दा बढी नयाँ टावर जडानको तयारी गरिरहेको जनाइएको छ।
२०७४ जेठबाट फोरजी सेवा शुरु गरेको एनसेलले हालसम्म ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ । कम्पनीका अनुसार हाल फोरजी सेवा मुलुकको ९५ प्रतिशतभन्दा बढी जनसंख्यामा पुगेको छ ।
टिप्पणीहरू