काँग्रेसको बैठकमा केपीको बचाउ
निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा आफू जिम्मेवार नरहेको दाबी गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बचाउ गरेका हुन् ।
भदौ २३ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। त्यस घटनाबारे पार्टी बैठकमा ‘ब्रिफिङ’ दिँदै लेखकले भने, ‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय नै होइन, दिनु पनि पर्दैन। मैले क्षति नहोस् भनेर भदौ २२ गते साँझको बैठकमै भनेको थिएँ। दोस्रो दिन बिहान पनि गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई ‘क्याजुअल्टी नहोस् है, कुनै हालतमा हुनुहुँदैन’ भनेर पटक–पटक भनेको छु।’
लेखकका अनुसार, उनले सुरक्षाकर्मीलाई संयमता अपनाउन निर्देशन दिएका थिए, गोली चलाउन होइन । ‘नेपाल प्रहरीका महानिरीक्षकले पनि मैले भनेको कुरा सञ्चारमाध्यममा पुष्टि गर्नुभएको छ,’ उनले भने ।
तर बैठकमा सहभागी केही नेताहरूले भने लेखकको भनाइलाई आत्म–सफाइ र राजनीतिक जिम्मेवारीबाट पन्छिने प्रयासका रूपमा लिएको अर्थ लगाएका छन् । उनीहरूले लेखकले ओलीको नाम पनि अघि सारेर त्यस दिनको निर्णय प्रक्रिया र चेन अफ कमाण्डमाथिको ध्यान हटाउन खोजेको आरोप लगाएका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि २३ र २४ गतेको घटनामा आफूले आदेश नदिएको भन्दै जिम्मेवारी अस्वीकार गरिसकेका छन् । दुवै जनाले उक्त गोली काण्डको जिम्मेवारी नलिँदा अब प्रश्न उठेको छ, ‘गोली कसको आदेशमा चल्यो? १९ जनाको ज्यान गएको उक्त घटनामा राजनीतिक उत्तरदायित्व कसले लिने?’
टिप्पणीहरू