नेतृत्व परिवर्तनको माग गर्दै काँग्रेसमा महिला भेला

नेतृत्व परिवर्तनको माग गर्दै काँग्रेसमा महिला भेला

नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको लागि कार्यकर्ताले दबाब बढाउन थालेका छन् । 

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका महिला नेता-कार्यकर्ताले आज काठमाडौंमा भेला गरी नयाँ नेतृत्वसहित फागुन २१ को चुनावमा जानुपर्नेमा जोड दिए । तत्काल विशेष महाधिवेशनको मिति तोक्न उनीहरूको माग छ । 

नेतृ चन्दा जोशीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेतृत्व परिवर्तन गरेर जनतासँग जानुपर्ने धारणा राखिन् । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने उनको मत छ । 

‘देशभरीका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर दर्ता भईसकेको छ । यो पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भएपनि फागुनमा हुन गएको आम निर्वाचन अगाडि नै नेतृत्व परिर्वतन गरेर जानुपर्छ’, उनले भनिन्, ‘हामीले हाम्रो केन्द्रीय समितिमा एकमतका साथ यो महिला भेलाबाट उहाँहरुलाई अनुरोध गर्न चाहन्छौँ, केन्द्रीय समितिको बैठकलगत्तै यही मंसिरभित्र महामन्त्रीले पेश गर्नुभएको कार्यतालिकाअनुसार नियमित महाधिवेशन होस् । यदी नियमित अधिवेशन गर्ने अवस्था छैन भने पार्टीको विधानमा भएको व्यवस्थाअनुसार वर्तमान परिवेशलाई बुझेर विशेष महाधिवेशनमार्फत भएपनि यो नेतृत्व परिवर्तन हुनुपर्छ ।’ 

अर्की नेतृ कुशुमदेवी थापामगरले पनि पार्टी नेतृत्व असक्षम भएकाले अब बिदा गर्नुपर्नेमा जोड दिइन् । सत्ता सञ्चालनका क्रममा जनताको समस्या सम्बोधन गर्न नसकेकाले जेन–जी आन्दोलन भोग्नुपरेको उनको भनाइ छ । 

विशेष महाधिवेशनगरी नेतृत्व परिवर्तन गरेर निर्वाचनमा नगए पार्टी थप संकटमा पर्ने थापामगरको चिन्ता छ । विशेष महाधिवेशन पक्षधरसँग पार्टी नेतृत्वले हालसम्म समन्वय नगरेको भन्दै उनले आक्रोश पोखिन् । 

विशेष महाविशेन गर्न नेतृत्वलाई दबाब दिनकै लागि महिला भेला आयोजना गरिएको बताउँदै उनले हस्ताक्षर गर्नेमध्ये ६० प्रतिशत महिला रहेको दाबी गरेकी छन् । पार्टीलाई सशक्तिकरण गर्न महिलाको जागरुकता आवश्यक रहेको धारणा पनि उनले राखिन् । 

 ‘हाम्रो यही नेतृत्वले सत्ता चलायो । त्यो सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र आम जनताको समस्या सम्बोधन गर्न नसकेको कारणले गर्दा जेनजीको नाममा आन्दोलन भयो’, थापामगरले भनिन्, 'त्यही कारणले फागुन २१ गते हुने निर्वाचनको घोषणा भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको यही नेतृत्व लिएर गयो भने पार्टी झनै संकटमा पर्ने अवस्थाका कारण नेतृत्व परिवर्तनका लागि हामीले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर संकलन गरेर पार्टीमा दर्ज गरेका छौँ ।’ 

पार्टी नेतृत्वले विगतका गल्तीहरूको निर्मम आत्मसमिक्षा गर्नुपर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालको मत छ । काँग्रेसले जनतामाझ सुध्रिएको सन्देश लिएर जानुपर्नेमा उनले जोड दिइन् । 

पार्टी नेतृत्व भ्रष्टाचार, भागबण्डा र संस्थागत कमजोरीले कलंकित भएको आरोप लगाउँदै ढकालले त्यसलाई सुधार्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताएकी छन् ।
 
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपी ऐरले समयमै महाधिवेशन गरेर पार्टीमा महिला र युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएकी छन् । 

नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा लिएर विवाद उत्पन्न भएको छ । संस्थापन पक्ष निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहँदा ईतर समूह भने चुनावअघि नै नियमित या विशेष महाधिवेशनमा जानुपर्ने अडानमा उभिएको छ ।

टिप्पणीहरू