राष्ट्रिय झण्डा बोकेर मधेश भवनअगाडि प्रदर्शन

राष्ट्रिय झण्डा बोकेर मधेश भवनअगाडि प्रदर्शन

मधेश प्रदेश सरकार गठनविरुद्ध आज पनि सात राजनीतिक दलले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

असंवैधानिक तवरले सरकार गठन गरिएकाले मुख्यमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै नेकपा एमाले बाहेकका दलले केही दिनयता गर्दै आएको आन्दोलनले आज निरन्तरता पाएको हो । उनीहरूले मधेश प्रदेश भवन अगाडि धर्ना दिएका छन् । 

नेकपा माओवादी केन्द्र (नेपाली कम्युनिष्ट पार्टी) प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए । सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेशी जनताको पक्षमा हुने उनले विश्वास व्यक्त गरे । 

नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताउँदै त्यसपछि सात दलीय गठबन्धनमा छलफलगरी आन्दोलनलाई नयाँ स्वरुपमा अघि बढाउने जानकारी दिए । 

गठबन्धनमा नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आज उनीहरू राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन् ।

टिप्पणीहरू