सभामुखको ‘जम्बो सचिवालय’ मा मासिक सवा तीन लाख खर्च
जेन जीको प्रदर्शन र विध्वंशपछि गठित अन्तरिम सरकार खर्च कटौतीको निर्णय गर्दै अघि बढिरहेको बेलामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको सचिवालयमा भने कर्मचारीको हुल देखिन्छ । सचिवालयमा कार्यरत झन्डै एक दर्जन कर्मचारीहरुले अधिकतम ५६ हजारदेखि न्यूनतम २४ हजार रुपैयाँसम्म मासिक तलब बुझेको देखिन्छ ।
सभामुखको सचिवालयका कर्मचारीमा मासिक तीन लाख १३ हजार २८३ रुपैयाँ खर्च हुने गरेको छ। राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी रमेशकुमार मण्डलले ५६ हजार ७८७ रुपैयाँ मासिक तलब बुझ्छन् भने रा.प. द्वितीय श्रेणीका कर्मचारी धिरेन्द्रकुमार मण्डलले ४८ हजार ७३७ र रा.प. तृतीय श्रेणीका सतिसकुमार साहले ४३ हजार ६९९ रुपैयाँ तलब पाउने गरेका छन्।
कम्प्युटर अपरेटर राहुल मण्डलको तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ। माली काजलकुमारी मण्डल, कुक विभाकुमारी मण्डल, स्विपर मिथिलादेवी मण्डल र कार्यालय सहयोगी इन्द्रेशकुमार मण्डललाई मासिक २४ हजार ७०२ रुपैयाँ तलब दिने गरिएको छ। सभामुख मण्डलको सचिवालयमा दुई जना सवारी चालक छन्। उनीहरुमध्ये भोजबहादुर यसमाली मगर र जितेन्द्रकुमार साहले २७ हजार ६१२ रुपैयाँ मासिक पारिश्रमिक बुझ्दै आएका छन्।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीका लागि १२ बुँदे निर्णय गरेको थियो। सो निर्णयमा स्वकीय सचिवसँगै सचिवालयका छुट्टै कार्यकक्ष कटौती गर्ने, सवारी साधनको प्रयोगमा कडाइ अपनाउने र वैदेशिक भ्रमण सीमित गर्नेजस्ता व्यवस्था छन्। तर मधेशका सभामुख मण्डलको सचिवालयले भने सरकारी निर्णयको धज्जी उडाएको अवस्था छ ।

टिप्पणीहरू