मधेशका सभामुखलाई धक्का
मधेश प्रदेश सभाका पाँच सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णयमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले पाँच प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको छ ।
सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा बैठकमा निरन्तर १० पटकभन्दा बढी अनुपस्थित भएको भन्दै कात्तिक २७ गते सांसदहरु उर्मिला सिंह, मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन कलवार र सारदा शंकर कलवारलाई पदमुक्त गरेका थिए । तर हाजिरी रेकर्ड माग्दै सभामुखको कार्यालयमा निवेदन बुझाएका सांसदहरु भने पदमुक्त गर्नुपर्ने कुनै आधार नरहेको भन्दै सर्वोच्च पुगेका हुन् ।
खासगरी, प्रदेश सरकार गठनविरुद्ध सात दिनदेखि धर्ना दिदै आएका दलहरुले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही कारण सभामुख मण्डलले पूर्वाग्राह राखेर पाँच सांसदलाई पदमुक्त गरेको कतिपयको बुझाई छ ।
टिप्पणीहरू