फुटेकाहरुलाई जुट्न महाभारत
उपेन्द्र यादवसँग छुट्टिएर जनता समाजवादी दल खोलेका अशोककुमार राईको पार्टीसँग मिल्ने घनश्याम भुसालहरुको तयारी चलिरहँदा सर्वोच्च अदालतले दल विभाजनमा यसअघिको २० प्रतिशतको व्यवस्था हटाइदिएपछि आधा जति नेता प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुनुपर्ने ठहरमा पुगेका छन् । केहीले भुसालहरुको नेकपा एकीकृत समाजवादीमा जोडिने आशय राखेका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेशमा राखिएको नयाँ प्रावधानले पहिले उपेन्द्रको पार्टी फुटाइदिएको थियो भने अहिले सर्वोच्चको आदेशपछि यादवको जीत भएको अवस्था छ । तर, नयाँ परिस्थितिमा दलहरु जोडिने र नयाँ गठन गर्ने प्रवृत्ति देखापरेको छ । राईको जसपामा रहेका प्रदीप यादव, नवलकिशोर साह सुडी,मोहम्मद इस्तियाक राइनले भने मधेशवादी दलहरुसँग एकतको हात अघि बढाउनुपर्ने धारणा राखेको देखिन्छ ।
अध्यक्ष अशोककुमार राईले केही समय अघिसम्म कम्युनिष्ट पार्टीको नाम लिएर अघि बढ्न नसकिने धारणा राखेका थिए भने राजेन्द्र श्रेष्ठहरु कम्युनिष्ट पार्टीको नाममा अघि बढ्नुपर्ने लाइनमा दृढ देखिन्छन् । तर पनि उक्त पार्टी मुख्यतः नेपाली कम्युनिष्ट पार्टीसँग एकता प्रक्रिया अघि बढाउन तयार रहेको धेरैको बुझाइ छ ।
यता तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका घनश्यामबीचको एकता वार्ता अड्केको अड्क्यै स्थितिमा छ । यसबीच घनश्यामको छुट्टै,जनार्दनको छुट्टै र विप्लवको आफ्नै पार्टी दर्ता भएपछि एकताको आह्वान कार्यान्वयनमा आउन गाह्रो परेको हो ।
स्रोत भन्छ, ‘सबैलाई अध्यक्ष चाहिएको छ । नेपाली कम्युनिष्ट पार्टीले महासचिव दिँदा विप्लवले अध्यक्ष मागे ।’ प्रचण्ड निकट एकजना नेताको बुझाइमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले विना विभागीय मन्त्री दिएमा पनि विप्लव नेतृत्वको पार्टी अहिलेको सरकारमा सहभागी हुन सक्छ । विप्लवले सर्वपक्षीय सरकार गठनको माग राख्नु,सम्विधान पुनर्लेखन गर्ने माग अगाडि सार्नुलाई उक्त अवस्थासँग जोडेर हेरिएको हो । राजावादीहरुले पनि यही भाषा बोल्दै आएका छन् ।
टिप्पणीहरू