पार्टी छोड्नेको खेदो नखन्ने भन्दै विरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नख्खु कारागारमा गएर सभापति रवि लामिछानेलाई भेट्न नपाएको भन्ने पार्टीका पूर्वनेता सन्तोष परियारप्रति असन्तुष्टि पोखेका छन् ।
पार्टीमा सल्लाह गरेर सभापति भेट्न सकिने अवस्था हुँदाहुँदै त्यसो नगरी बाहिर गुनासो गरेको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन् । परियारले एक अन्तर्वार्ताका क्रममा लामिछानेलाई भेट्न समय नपाएको बताएका थिए ।
आज केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै झाको यो प्रतिक्रिया आएको हो । 'के गरौँ म भनेर सल्लाह गर्न सकिन्थ्यो । त्यो आवश्यक ठान्नुभएन । रुपन्देहीमा, धनगढीमा भएको अर्को कुरा । तर चार किलोमिटर टाढा हुनुहुन्छ । उहाँ जानुभएन । भेट्नुभएन', उनले भने ।
परियारको यसरी आलोचना गरेका झाले पार्टी छोडेर जाँदैमा खेदो खन्ने पक्षमा नरहेको पनि बताए ।
'पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले हिजोमात्रै गएर साढे तीन घण्टा भेटेर निस्किनुभयो । उहाँले पर्याप्त समय पाउनु हुन्थ्यो । कसैको स्टुडियोमा गएर सदाशयता देखाउनुपर्ने थिएन', उनले भने, 'हामी अरु दल जस्तो पार्टी छोडेर कोही जाँदैमा उहाँको खेदो खन्ने, उहाँको मान मर्दन गर्ने, त्यस्तो अभ्यास हामीले सुमनाजीको बेलामा पनि गरेनौँ ।’
टिप्पणीहरू