यस्ता इन्फ्लुयन्सरमाथि खै त कारवाही ?
भ्युज, लाइक र कमेन्टको लोभमा पछिल्लो समय डिजिटल इन्फ्लुयन्सरहरुले भ्रामक समाचार फैलाउन थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई भावनात्मक रुपमा म्यानिपुलेट गरेर उनीहरु वास्तविकतालाई तोडमोड गर्न सक्रिय बनेका हुन् ।
जीवित कलाकार सीताराम कट्टेल धुर्मुसको फोटो तथा भिडियो दुरुपयोग गरेर उनलाई मृत घोषणा गरिनुलाई त्यसैको पछिल्लाे उदाहरण मान्न सकिन्छ । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋणको भुक्तानी पाउन स्थानीय सरकारदेखि संघीय सरकारसम्म दौडधुप गरिरहेका धुर्मुसलाई कतिपय इन्फ्लुयन्सरले मृत घोषणा गरेका छन् ।
२० हजारभन्दा बढी फलोअर भएका ‘प्रिन्स प्रो म्याक्स’ नामक एक इन्फ्लुयन्सरले ‘अचानक धुर्मुसको निधन भएको छ, उहाँलाई बचाउन सकिएन’ भन्दै एउटा फेक भिडियो सार्वजनिक गरेका छन् । सोही भिडियोको आधारमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले धमाधम श्रद्धाञ्जली दिइरहेको देखिन्छ ।
धुर्मुस साँच्चिकै अन्यायमा परेका हुन् वा सहानुभूतिको लागि स्टण्ट गरेका हुन्,त्यसबारे छुट्टै अध्ययन र चर्चा गर्न सकिएला । तर फोटो तथा भिडियोमा शारीरिक रुपले कमजोर देखिएकै कारण धुर्मुसलाई मृत घोषणा गर्नुलाई स्वभाविक मान्न सकिदैँन । यसलाई सञ्चार विज्ञहरुले ‘फेक कन्टेन्ट’ भनेका छन् । सार्वजनिक भिडियोमा धुर्मुस अस्पताल भर्ना हुँदा खिचिएका केही पुराना तस्वीर प्रयोग गरिएको छ ।
यसरी सामाजिक सञ्जालमा भ्रामक खबर फैलाउने इन्फ्लुयन्सरहरुलाई सरकारले किन कारवाहीको दायरामा ल्याउन नसकेको होला ? गम्भीर प्रश्न उठेको छ ।
स्मरणीय छ,भदौ २३ र २४ गतेको घटनामा पनि थुप्रै इन्फ्लुयन्सरले भ्रामक समाचार फैलाएका थिए । युट्युबर भाग्य न्यौपानेले झापामा एक मेयरको घरबाट ८० किलो सुन भेटिएको मिथ्या सूचना फैलाए । अमेरिका बसेर नेपालको राजनीति र नेताहरुबारे नागरिकमा गलत भाष्य निर्माण गरिदिँदै आएका युट्युबर टंक दाहालले पनि संसद भवनभित्र ३२ जना युवालाई बन्धक बनाइएको भन्ने गलत खबर फैलाए ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी हालसम्म ठोस नीति बनेको देखिँदैन । तर पनि समाजिक शान्ति र सद्भाव बिथोल्न प्रेरित गर्ने त्यस्ता इन्फ्लुयन्सरलाई सरकारले तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने महसुस गरिएको छ ।
टिप्पणीहरू