जनआस्थाको समाचार-पेमाले पाइन् न्याय

जनआस्थाको समाचार-पेमाले पाइन् न्याय

एकल महिला भएकै कारण गाउँलेको अत्याचारमा परेकी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २, ल्होकी पेमा लामाले अन्ततः न्याय पाएकी छन् । गाउँले मिलेर कानूनविपरीत लाखौं रकम जरिवाना तिराइएकी उनको सबै रकम फिर्ता भएको छ । 

गाउँपालिका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ,गोरखाका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकसहितको पहलमा हिजो पेमाको पाँच लाख दश हजार रुपैयाँ फिर्ता भएको हो । उपाध्यक्ष गुरुङका अनुसार अबदेखि उनलाई कसैले पनि दुःख नदिने सहमति पनि भएको छ । 

‘गाउँपालिका प्रतिनिधि र प्रहरी प्रशासनको अगुवाईमा उनीसँग कानूनविपरीत लिइएको सबै रकम फिर्ता गरिएको छ,अबदेखि कोही पनि गाउँलेले उनलाई दुःख नदिने पनि सहमति भएको छ,’उनले भनिन् । त्यस्तै,पेमामाथि खुर्पा प्रहार गर्नेलाई कारबाहीको सहमति भएको उपाध्यक्ष गुरुङले बताइन् । 

‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । छिट्टै दोषीलाई कारबाही गर्छौँ  भन्नुभएको छ,’ उनको भनाइ छ । सात वर्षअघि कोरोना महामारीबाट श्रीमान गुमाएकी ४८ वर्षीय पेमाले गाउँमै खेतीपाती गरेर सात सन्तान हुकाउँदै आएकी छन् । 

पटकपटक जरिवानामा परेकी पेमामाथि गत कात्तिक अन्तिम साता खुर्पासमेत प्रहार भयो ।

तर,श्रीमान नभएकै कारण गाउँले मिलेर उनलाई कानूनविपरीत जरिवाना तिराउने, धाकधम्की दिने र ज्यानै लिनेगरी आक्रमण गर्दै आएका थिए । गाउँकी एक महिलाको कुरा काटेको निहुँमा स्थानीयहरु मिलेर गत असारमा उनलाई दश लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको थियोे । 

त्यो निर्णय सुनेपछि उनी बैठकमै बेहोस भइन् । जरिवाना तिर्न मानिनन् । तर, गाउँलेहरुले जरिवाना तिर्न धरपकड गरेपछि आफ्ना बहिनीहरुको सहयोगबाट पाँच लाख रुपैयाँ बुझाइन् । त्यसपछि साउन ३० गते चुमनुब्री–९, छिमेकको घरमा आगलागी भयो । 

आगलागी भएको घरबाट सुनचाँदी गहनासँगै सामान हरायो भनियो । र, त्यसको आरोप पनि पेमामाथि नै लगाइयो । पछि हराएका सामान भेटियो भन्दै गाउँलेले बोलाएको बैठकमा पुग्न केही समय ढिलो भएकै कारण उनलाई फेरि दश हजार रुपैयाँ जरिवाना गरिएको थियो । 

पटकपटक जरिवानामा परेकी पेमामाथि गत कात्तिक अन्तिम साता खुर्पासमेत प्रहार भयो । झुटा आरोप लगाउँदै स्थानीयले उनको टाउकोमा खुर्पा हानेका थिए । जसबारे प्रहरी अनुसन्धान जारी छ । यसरी एकल नारी भएकै कारण गाउँलेबाट पटकपटक अन्यायमा परेकी पेमाले अन्ततः राहत पाएकी छन् ।

यो पनि...

एकल नारीमाथि साह्रै अत्याचार

टिप्पणीहरू